तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस संक्रमणको कारण देखाउँदै निस्काशनमा शिक्षकहरु


काठमाडौं ।पछिल्लो समय अधिकांश निजी विद्यालयका शिक्षकहरुलाई कोरोना भाइरस संक्रमणको कारण देखाउँदै जागिरबाट निस्कासन गर्न थालिएको छ । अभिभावकसँग आफुखुसी शुल्क लिएर वैकल्पिक विधिको कक्षा लिँदै आएका कतिपय निजी विद्यालयलका शिक्षकले गत आठ महिनादेखि तलव समेत नपाएको जनाएका छन् ।

कोरोना भाइरस संक्रमणको कारण देखाउँदै विद्यालय सञ्चलकहरुले तलव नदिइ उल्टै जागिरबाट निस्काशन गर्न थालेको संस्थागत विद्यालय युनियन (इस्टु)का अध्यक्ष होमकुमार थापाले बताउनुभयो । थापा भन्नुहुन्छ –‘ शिक्षकहरुमाथि श्रम शोषण भइरहेका छन् । काम गर्ने वातावरण नै छैन ।‘ तलब नपाएका शिक्षकहरु भने आन्दोलन गर्ने तयारीमा छन् । पहिलो चरणमा विद्यालय सञ्चालक, प्याव्सन एनप्याव्सनसँग छलफल गर्ने र सरकारको ध्यानाकर्षण गराउने इस्टुका अध्यक्ष थापाले जानकारी गराउनुभयो ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि वैकल्पिक कक्षा सञ्चालन गरेका निजि विद्यालयहरुले गत जेठ महिनादेखि नै अभिभावकसँग शुल्क लिँदै आएका छन् । तर यस अवधीमा पढाए वापत शिक्षकहरुले कुनै महिना पनि पूरा तलब पाएका छैनन् । निजी विद्यालय सञ्चालकहरु भने शुल्क उठेको अनुपातमा शिक्षकलाई तलव दिने निष्कर्षमा पुगेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटाको भनाइ छ ।

निजी तथा आवासीय विद्यालयका सञ्चालकले अभिभावकसँग शुल्क लिएर पनि शिक्षकलाई समयमा तलव नदिने, सेवाबाट हटाउने र नियुक्ति पत्र नदिने जस्ता समस्या आएपछि विद्यालय शिक्षाको व्यवस्थापन गर्ने जिम्मा पाएका स्थानीय तहहरुले शिक्षक र विद्यालयबीच समन्वय गर्ने काम गरिरहेका छन् ।

विद्यालय तहको शिक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको स्थानीय तहहरुमा पनि शिक्षकले तलव नपाएको गुनासो आउन थालेका छन् । काठमाडौँको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी शिक्षकहरुको श्रमको सम्मान गर्नुपर्ने बताउनुहुन्छ । नगरप्रमुख अधिकारीका अनुसार निजी विद्यालय सञ्चलक र शिक्षकहरुसहितको बैठकले शिक्षकले तलव नपाउने र जागरिबाट हात धुने अवस्था नआओस् भनेर निर्देशन दिइएको छ । उहाँ हरेक स्थानीय तहले संवादबाट यस्तो समस्या समाधान गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

हाल मुलुकभर छ हजार भन्दा बढी निजी विद्यालयमा पढाउने झण्डै डेढ लाख शिक्षक–कर्मचारीले तलव नपाउँदा विद्यार्थीको पढाइमा समेत नकारात्मक प्रभाव पारेको छ । निजी विद्यालयहरुमा विगतमा पनि विद्यार्थीसँग बढी शुल्क लिने र शिक्षकलाई समयमा पर्याप्त तलव नापएको नदिइने समस्या देखिँदै आएकोे थियो । कोरोना महाममारीको कारण देखाउँदै अहिले शिक्षकहरुलाई अपमान गर्न थालिएपछि निजी विद्यालयका शिक्षकहरु नेपाल शिक्षक महासङ्घलगायतको सहयोगमा आन्दोलनको तयारीमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button