तपाईँ सुन्दै हुनुहुन्छः

सडक निर्माण सँगै स्थानीयमा खुसीयाली

सडक निर्माण गर्दै स्काभेटर, फोटो : बद्री पन्त 
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१०, साइलेसाँघु खोलादेखि रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माणको काम अगाडि बढेको छ । दुई महिनाभित्र निर्माण कार्य सक्ने गरी काम अगाडि बढेको जनाइएको छ ।
प्रदेश सरकारको तीन करोड लागतमा कड्का कृष्ण कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएको छ । सडकको ६२ हजार घन मिटर माटो कटिङ तथा १० हजार घन मिटर कडा चट्टानको भाग कटिङ गर्नु पर्ने निर्माण व्यवसायीका प्रतिनिधि बुद्धिबहादुर खत्रीले जानकारी दिनु भएको छ । तोकेको समय अगावै सडक निर्माण हुन्छ, खत्रीले भन्नु भयो ।
भौगोलिक विकटताले पछि परेको गाउँमा सडक निर्माण हुन थालेपछि स्थानीयमा निकै खुसी छाएको वडा अध्यक्ष भद्र बहादुर ध्यारले बताउनु भयो । निर्माणको काम धमाधम भइरहेको छ, अध्यक्ष ध्यारले भन्नु भयो । भिरालो जमिन कडा चट्टान छ, थोरै बजेटले पुग्दैन, धेरै बजेट आवश्यक पर्छ ।
यो सडक वनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने छन् । चौखा खोला देखि साइलेसाँघुसम्मको दुई किलोमिटर सडक निर्माण भई सकेको छ । यो सडक डोल्पाको मुड्केचुला गाउँपालिका जोड्ने मुख्य सडक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button