तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

पाल्पा । तानसेनको सेन्ट क्यापितानियो स्कुलका एक विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द भएको छ । कक्षा १० मा होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीमा कोरोना पुष्टि भएकोले कक्षा ७ देखी १० सम्मका विद्यार्थीको भौतिक उपस्थितिको पढाइ बन्द गरिएको हो ।
कक्षा ७ देखी कक्षा १० सम्मका विद्यार्थीहरूलाइ अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने गरी पाँच दिनका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । विद्यालय प्रिन्सिपल एनिस जोसेफले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीमा कोरोना पुष्टि भएकोले तानसेन नगरपालिकासँगको सल्लाहमा ५ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
नगरपालिकाको निर्देशन अनुसार स्वाब परीक्षण गरेर विद्यालय सुचारु हुनेछ । कक्षा ७ देखी १० पढाउने शिक्षकहरू र विद्यार्थीहरू अन्य कक्षाका विद्यार्थीहरूसँग घुलमिल नभएका कारण अन्य कक्षा भने यथावत् रूपमै सञ्चालन हुने विद्यालयले जनाएको छ ।
सेन्ट क्यापितानियो स्कुल व्यवस्थापन समितिका अध्यक्ष सागरमान महर्जनले तानसेन नगरपालिकाको शिक्षा समितिसमेतको अनुगमनमा अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न र गराउन विद्यालयसँग छलफल गरेको बताउनुभयो ।
यता तानसेनका विद्यालयमा केही सामुदायिक र संस्थागत विद्यालयका शिक्षकमा कोरोना पुष्टि भएर पुनः विद्यालयमा फर्केका छन् । यस्तो अवस्थामा पनि विद्यार्थीहरू बीचमा भौतिक दूरी अपनाउने, सेनिटाइजेशन गर्ने तथा हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्नमा कञ्युस्याइ गरिएकोमा अभिभावकहरूले भने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button