२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन ‘गन्तव्य अभियान’

पुष्करराज बुढाथोकी २०७७ पुष १२ गते १९:०२

पत्रकार सम्मेलन गर्दै सहभागी

भक्तपुर । मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ सञ्चालन गर्ने भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले ओस्ला नेपालको संयोजनमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचीन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आउँदो जनवरी १ मा सम्पदा पदयात्रा आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले गत वर्ष नै यो कार्यक्रम तय गरे पनि कोरोना भाइरस महामारीका कारण रोकिएको सम्पदा पदयात्रा कार्यक्रम जनवरी १ मा गर्ने गरी तयारी पुरा गरेको बताउनुभयो ।

सम्पदा पदयात्राका क्रममा धिमे बाजा र बाँसुरी बाजाका साथमा शैखधर चोकबाट विष्णुवीर, बालकुमारी, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, हात्तिमहांकाल, सिद्धिकाली, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बाहाखा बजार, गार्चा चोक, द्योः छेँ नगदेश, सिद्धि गणेश, बुद्ध विहार, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर हुँदै कुमारी द्योः स्क्वायरमा पुगेर सम्पदा यात्रा समापन हुने भएको छ ।

सम्पदा यात्रामा नगरपालिकाका जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, होटल एसोसिएसन हान, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानका पहलमा विदेशी पर्यटक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको टोलीको सहभागिता रहने भएको छ ।

कार्यक्रमका लागि नगरपालिकाले रु. पाँच लाख ३५ हजार खर्च गर्ने र विभिन्न सांस्कृतिक झाकीहरु प्रदर्शन गरिने ओस्ला नेपालका सचिव रोशन बज्राचार्यले जानकारी दिनुभयो ।

हाते पुस्तिका प्रकाशनका संयोजक ज्ञानराम श्रेष्ठ, शंखधर साख्वाःप्रतिष्ठानका पूर्वअध्यक्ष मानन्धर श्याम मानन्धरले पर्यटनको विकासमा सरोकारवाला निकायको चासो र स्थानीयको सहभागिता आवश्यक रहेको चर्चा गर्नुभयो ।

सहभागीहरूले पर्यटन विकासका लागि निजी तथा साझेदारीमा लगानी भित्र्याउनु पर्ने, सार्वजनिक शौचालयदेखि होटल, क्याफे, होम स्टेको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

पुस १७ गते शुक्रवार ‘मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य मध्यपुरथिमि पर्यटकीय हाते पुस्तिका’को वाग्मति प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र मध्यपुरथिमिका प्रमुख श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्दै सम्पदा यात्रा सुरु गरिने भएको छ ।

जनप्रतिनिधि आएपछि नगरपालिकाले अहिलेसम्म जीर्ण भएका ऐतिहासिक पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुइ वटा पार्क पुनर्निर्माण गरिसकेको र यहाँका सम्पदाका साथै शंखधर चोकस्थित शंखधर पार्क र बोडेको कुमारी पार्कमा घण्टौँ रमाउन सकिने जनाएको छ ।

सम्बन्धित