तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाहमा असर पर्न नदिनेतर्फ सजग हुन मन्त्री ढकालको आग्रह

काठमाडौँ।   नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले आज पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण लगत्तै मन्त्रालयले राखेको स्वागत कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकालले मन्त्री बदलिए पनि सरकार र सरकारको नीति नबदलिएकाले लक्ष्यमा केन्द्रित भएर ढुक्कसँग काम गर्न निर्देशन दिनुभयो ।
उहाँले आफू कुनै अतिरिक्त लाभ र सुविधामा लालायित हुने व्यक्ति नभई सधैँ काम र परिणाममा विश्वास राख्ने भएकाले त्यसै अनुसारको सहयोग गर्न आग्रह गर्नुभयो ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अपवादबाहेक निर्णय कार्यान्वयन र  समयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो ।
उहाँले निर्वाचन घोषणा भइसकेको अवस्थामा फरक आस्था र राजनीतिक रङको आधारमा मन्त्रालयको काम, अनुशासन र सेवा प्रवाहमा असर पर्न नदिने तर्फ सजग हुन मन्त्रालय मातहतका कर्मचारीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको सरकारमा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यसअघि कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
नवनियुक्त मन्त्री ढकाललाई स्वागत गर्दै मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा भइरहेका कार्य प्रगति, यसका चुनौती र यसका लागि गर्नुपर्ने निर्णय लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
मन्त्री ढकाललाई स्वागत गर्दै मन्त्रालय र मातहत रहेका विभाग तथा निकाय प्रमुखहरूले संस्थाको संस्थागत परिचय र संक्षिप्त कार्य प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button