तपाईँ सुन्दै हुनुहुन्छः

जनता आवास कार्यक्रममार्फत सल्यानमा ५० घर निर्माण हुँदै

सल्यान। सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो ।

तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण गरिनेछ । अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

अहिले जिल्लामा घर निर्माण हुने स्थान र लाभाग्राही छनोटसँगै लाभग्राहीसँग सम्झौताको काम भइरहेको पूर्वाधार कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिनुभयो । जनता आवास कार्यविधिअनुसार लाभग्राहीको घर निर्माणका लागि स्थानीय तहले गरेको सिफारिसअनुसार आवश्यक प्रक्रियागत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

घर निर्माणका लागि प्रत्येक परिवारले रु तीन लाख ५० हजार प्राप्त गर्नेछन् । उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । साथै कूल रकमको १० प्रतिशत खर्च लाभग्राहीले व्यहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यही आवमा निर्माण सम्पन्न गर्ने गरी जनता आवास निर्माण शुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।

लाभग्राही आफैँले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माण गर्न लागेको हो । ‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्ष्य गरी आव २०६६÷६७ बाट लागू गरिएको योजना हो । घरविहीन परिवारका लागि सङ्घीय सरकारले जिल्लामा ५० घर निर्माणका लागि रु एक करोड ७५ लाख विनियोजन गरेको छ ।

अहिले स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीसँग आवास निर्माणका लागि सम्झौता गर्ने काम भइरहेको कार्यालयका सबइञ्जिनीयर महेशकुमार वलीले जानकारी दिनुभयो । खासगरी दलित, विपन्न समुदायका लागि आवास निर्माण गरेर उनीहरुलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button