तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज भन्सारद्वारा ५ महिनामा ५८ अर्ब १५ करोड राजश्व असुली

वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा ५८ अर्ब १५ करोड ९९ लाख १८ हजार राजश्व असुली गरेको छ ।

भन्सार विभागले तोकेको लक्ष्यको ८९ प्रतिशत राजश्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको कारण आयात निर्यात प्रभावित भएको अवस्थामा विभागले तोकेको लक्ष्य वीरगञ्ज भन्सारले पछ्याउदै गएको प्रमुखभन्सार प्रशासक आचार्यले बताउनुभयो ।

वीरगञ्ज भन्सार कार्यालयलाई राजश्व विभागले ५ महिनामा ६५ अर्ब २५ करोड, ५८ लाख राजश्व असुलीको लक्ष्य तोकेको थियो । लक्ष्य भन्दा झण्डै ७ अर्ब कम राजश्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७–०७८ को ५ महिनामा भन्सार राजश्वतर्फ २२ अर्ब १७ करोड, ६३ लाख ४६ हजार असुली गरेको छ भने मुल्य अभिबृद्धि करतर्फ १९ अर्ब ९७ करोड ६० लाख ४७ हजार असुली गरेको छ ।

त्यसैगरी अन्त शुल्कतर्फ ७ अर्ब ३८ करोड ९८ लाख ७१ हजार असुली गरेको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताउनुभयो ।

त्यसैगरी, वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ४ अर्ब ८८ करोड ९४ लाख ८५ हजार राजश्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ४ अर्ब ९६ करोड ५३ लाख ७ हजार असुली गरेको छ ।

यसैगरी, वीरगञ्ज भन्सार कार्यालयले सडक सुधार दस्तुरतर्फ ३ अर्ब ८ करोड १५ लाख २९ हजार राजश्व असुली गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button