तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी करिडोर स्तरोन्नतिको काम अन्तिम चरणमा

बागलुङ । चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङ खण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक दश मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।

कोरोनाका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्ने गरी काम चलिरहेको जनाएको छ । सेनाले पछिल्लो समय अधिकांश स्थानमा भीर, पहरा र चट्टान काटेर सडकलाई दश मिटर चौडा बनाईरहेको छ ।

बागलुङ खण्डअन्तरगतको मालढुंगा–बलेवा विमानस्थलसम्मको दश किलोमिटर सडक सेनाले गतवर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो । बागलुङ नगरखण्डमा पर्खाल लगाउने काम बाँकी छ ।

जैमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ । कुनै अवरोध नभए जेठमा जिम्मेवारी हस्तान्तरण गरिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताउनुभयो ।

अहिले बागलुङ खण्डअन्र्तगत २४ किलोमिटर १ सय ६० मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ । जैमिनी नगरपालिका वडा नम्वर ८ छिस्तीको बाघखोरमा बम विष्फोट गरेर चट्टान कटानको काम भइरहेको भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button