तपाईँ सुन्दै हुनुहुन्छः

१ लाख ६५ हजार बराबरको अवैध बिँडी बरामद

 

बैतडी  । बैतडीमा सशस्त्र प्रहरीले एक लाख ६५ हजार बराबरको अवैध १० पेटी बिँडी बरामद गरेको छ ।

सीमावर्ती भारतीय बजारबाट अवैध रुपमा भित्र्याइएको बिँडी शनिबार बिहान पौने २ बजेतिर सशस्त्र प्रहरीको गस्ती टोलीले दशरथचन्द नगरपालिका–६ गाँजरीबाट बरामद गरेको हो ।

रातीको समयमा अवैध रुपमा बिँडी ल्याउँदै गरेका मानिसहरू भने सशस्त्रको टोली देख्ने बित्तिकै बिँडी छोडेर भागेको बताइएको छ ।

सीमा नाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतबाट बिँडी ल्याएको हुनसक्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीका सशस्त्र प्रहरी निरीक्षक हर्कबहादुर साउदले जानकारी दिनुभयो ।  बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको अहिलेसम्म तीन लाख बढीको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाइसकेको छ ।

सीमा क्षेत्रमा हुने अवैध कारोबार रोकथामका लागि सशस्त्र प्रहरीले नियमित रुपमा गस्ती गरिरहेको रहेको सशस्त्र प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक गतिविधि रोक्नका लागि बिओपीमार्फत पनि गस्ती गरिरहेको उहाँले बताउनुभयो ।

जिल्लाका तीन ठाउँमा बिओपीमार्फत सशस्त्र प्रहरीले सेवा दिइरहेको सशस्त्र प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।

बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको कुस्मौद घाटमा सशस्त्र प्रहरीको बिओपी रहेको छ । बिओपीमार्फत सीमा क्षेत्रमा नियमित गस्ती भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button