तपाईँ सुन्दै हुनुहुन्छः

‘कानुनी राज्यको सुनिश्चितताका लागि फौजदारी न्याय प्रणाली बलियो हुनुपर्छ’

फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कानुनी राज्यको सुनिश्चितताका लागि फौजदारी न्याय प्रणाली बलियो हुनुपर्ने बताउनुभएको छ ।

सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको आज काठमाडौँमा समापन गर्नुहुँदै गृहमन्त्री थापाले समाजमा शान्ति सुव्यवस्था सुनिश्चित गर्न अनुसन्धान तथा अभियोजनलाई प्रमाणमुखी बनाउनुपर्ने बताउनुभयो ।

गृहमन्त्री थापाले वस्तुनिष्ठ अभियोजन हुन सके मात्रै पीडितले न्याय पाउने हुनाले अभियोजनकर्ता सरकारी वकिलहरूको क्षमता विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फौजदारी अभियोगको अनुसन्धानलाई छोटो, सरल र वस्तुनिष्ठ बनाउन सरकारले विधि विज्ञान प्रयोगशालाको क्षमता विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

महान्यायाधिवक्ता खरेलले विधि विज्ञान प्रयोगशालाको सङ्ख्या तथा कार्य क्षमता विस्तार गर्न सके हिरासत व्यवस्थापन लगायतको क्षेत्रमा समेत सुधार गर्न सकिने बताउनुभयो ।

पौष ८ गतेदेखि सुरु भएको सम्मेलनमा भौतिक रूपमा तथा भिडियो सञ्चार एप्लिकेसन जुममार्फत देशभरका सरकारी वकिलहरूको सहभागिता रहेको थियो ।

सम्मेलनले फौजदारी अपराध संहिताको कार्यान्वयनमा देखिएका समस्याहरूको समाधान तथा अभियोजन सुधारका सम्बन्धमा २३ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button