तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा फुसको छानामुक्त बनाउने अभियान शुरु

सप्तरी । सप्तरीमा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ ।

फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सप्तरीको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ ।

अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सप्तरीका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख सुरेन्द्र प्रसाद साहले जानकारी दिनुभएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समितिको आज शुक्रबार कञ्चनरुप नगरपालिकामा बसेको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि पहिले निवेदन लिई घरको डाटा संकलन गरी सर्वे भए पश्चात सप्तरीका ६ वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ ।

कञ्चनरुप नगरपालिकामा ४ सय ५३, हनुमाननगर कंकालिनी नगरपालिकामा ३ सय ९२, तिरहुत गाउँपालिकामा २ सय ५५, अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा २ सय २३ र सप्तकोसी नगरपालिकामा ३ सय ४ वटामा जस्तापाताको सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर मदन रायले जानकारी दिनुभयो ।

कार्यक्रममा कञ्चनरुप, सप्तकोशी, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखहरु, तिरहुत र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृतहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button