तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

बीरगंज । पर्साको धोबिनी गाउँपालिकामा आज पशु स्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धी एक दिने निःशुल्क शिविर सम्पन्न भएको छ ।

धोबिनी गाउँपालिका वडा नम्बर ४ लङ्गडीमा रहेको पशु सेवा शाखामा आयोजित निःशुल्क शिविरमा बाख्रा ९ सय ५० र गोरु भैँसी १ सय २० गरी १ हजार ७० वटा पशुहरूको चेक जाँच गरिएको थियो ।

चेक जाँच पश्चात् पशुहरूलाई आवश्यक पर्ने औषधिसमेत वितरण गरिएको पशु शाखाका प्रमुख केशराज कुर्मीले बताउनुभयो ।

शिविरमा पशु चिकित्सक मुडलिधर पाण्डे, सोनालाल चौहान, प्रदीप पटेल, सुभम पाण्डे, धनेन्द्र पाण्डे, मोहन कुमार साह, अरबिन्द पाल, गैसुल आलम, मदन मलाह, कमल ठाकुरलगायत चिकित्सकहरूले पशुहरूको परीक्षण र आवश्यक औषधी वितरण गर्नु भएको थियो ।

पशु स्वास्थ्य शिविरमा भ्यागुते रोग, चरचरे रोगको भ्याक्सिन समेत पशु हरूलाई लगाइएको पशु चिकित्सक प्रदिप पटेलले बताउनुभयो । भ्यागुते रोगले पशुहरूमा विभिन्न किसिमको समस्या आउनेदेखि उनीहरूको मृत्युसमेत हुने भएकोले खोप लगाइएको पशु चिकित्सक कमल ठाकुरले बताउनुभयो ।

निःशुल्क पशु स्वास्थ्य शिविर धोबिनी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मजिद मियाँको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button