तपाईँ सुन्दै हुनुहुन्छः

जयबागेश्वरीमा नवदुर्गा नाच

काठमाडौँ। मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयबागेश्वरीमा देखाउने गरेको नाच यस वर्ष सीमित व्यक्तिका बीच सम्पन्न गरिएको छ ।

रणजीत मल्लको पालामा शुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिनअर्थात् आज नाच सम्पन्न गरी फर्कने चलन छ । नवदुर्गा, भैरव, गणेशलगायत देवीदेवताको मूर्तिसहित नवदुर्गाका गण भक्तपुर दरबार क्षेत्रबाट पैदल पशुपति आउँछन् । पैदल आउनेक्रममा पुलबाट समेत नहिँडी नदीमा पैतालाले छोएर तर्नुपर्ने नियम रहेको पशुपति क्षेत्रका मूर्तअमूर्त संस्कृतिका विषयमा खोज गरिरहनुभएका मुकुन्दराज वैद्यले राससलाई जानकारी दिनुभयो ।

नवदुर्गाका गण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट आई त्यहीँबाट फर्कने गरेका छन् । दुई सय वर्षभन्दा पुरानो नवदुर्गा नाचको मार्गमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि यही मार्ग भएर आउने गरिएको हो । विमानस्थलको सुरक्षामा खटिएको सुरक्षा समूहले समेत नवदुर्गाका गणलाई आउने दिने गरेको पनि उहाँले बताउनुभयो ।

नाच देखाउने क्रममा नवदुर्गाका गण नवमी र दशमी गरी दुई रात जयबागेश्वरीस्थित नवदुर्गा डबलीअघिको देवता घरमा बस्ने गरेका छन् । विगत वर्षमा कम्तीमा पनि २०० भन्दा बढी नवदुर्गाका गण आउने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ५० जनामात्र बोलाएर जात्राको विधि पूरा गरिएको विसं २०३९ देखि नै यो जात्रालाई सहयोग एवं समन्वय गर्दै आउनुभएका काठमाडौँ महानगरपालिका–८ का पूर्ववडाध्यक्ष सुवर्ण वैद्यले बताउनुभयो ।

जयबागेश्वरी ल्याएपछि देवीलाई पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका तर्फबाट बलिसहित पूजा दिने परम्परा छ । तान्त्रिक विधिमा आधारित नवदुर्गा नाचका क्रममा यो संस्कृतिलाई गिज्याउँदा दुष्परिणाम भोग्नुपरेका उदाहरणसमेत छन् । नवदुर्गा नाच पशुपति क्षेत्रसँगै बनेपाको चण्डेश्वरी, टोखा चण्डेश्वरी, साङ्ला, ठिमीलगायत स्थानमा रहेका देवी मन्दिरअघि समेत लगेर नाच देखाउने परम्परा छ । विसं २०३० तिर बनेपामा देवी नाच चलिरहेका बेला एक व्यक्तिले गिज्याएपछि नाचिरहेका गणले लगाएको चुराले आगलागी भएको वैद्यको स्मरणमा अझ ताजा छ ।

पशुपति क्षेत्रमा हरिसिद्धिको जात्रा आउने वर्ष भने नवदुर्गाका गण आउँदैनन् । विगतमा हरिसिद्धि र नवदुर्गाको नाच जयबागेश्वरीमा एकैपटक आएका बेला दुवै देवीबीच झगडा भएकाले हरिसिद्धि आउने वर्ष नवदुर्गा नआउने नियम बसालिएको हो । आगामी वर्ष विसं २०७८ को मार्गशीर्ष शुक्ल नवमीमा हरिसिद्धिको नाच जयबागेश्वरी आउने पालो छ ।

जाडो महिनामा जात्राको समय पर्ने भएकाले दुई रातसम्म नवदुर्गा डबलीअघि गणलाई आगो बालेर ताप्ने व्यवस्थासमेत मिलाइन्छ । यो जात्रालाई विसं २०३९ देखि नै स्थानीयवासीले पैसा उठाएर सहयोग गर्दै आएका छन् । यसको व्यवस्थापन हाल जयबागेश्वरी युवा क्लबले गर्ने गरेको अध्यक्ष दिलीप वैद्यले बताउनुभयो । नवदुर्गाका गणलाई जयबागेश्वरीवासीले घर घरमा लगी टीका लगाइदिने मीठा कुरा खान दिने आदि फर्माइस पूजाको परम्परा रहेपनि यस वर्ष कोरोना महामारीका कारण डबलीबाट अन्यत्र जान नमिल्ने गरी व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । यस वर्ष दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर नाच देखाइएको छ ।

विगतमा नवदुर्गाका गणका नाममा गुठी राखिएकामा मासिएपछि विभिन्न स्थानमा गएर जात्रा देखाउन स्रोतको समस्या हुने गरेको गणनायकको भूमिकासमेत निभाउँदै आउनुभएका दयाराम वनमाला बताउनुहुन्छ । गुठी मासिएपछि नाच लैजाने स्थलका स्थानीयवासीको साथ र सहयोगमा यो ऐतिहासिक परम्पराले निरन्तरता पाउँदै आएको छ ।

यस नाचका क्रममा नवदुर्गालाई पशुपतिनाथको मूल मन्दिर परिसरमा समेत परिक्रमा गराउने विधि रहेको गणका सदस्य बुद्धिबहादुर वनमालाले सुनाउनुभयो । यो जात्राका क्रममा तीन दिनसम्म जयबागेश्वरी मन्दिरअघिबाट सिफल जाने मार्ग बन्द गरेर नाच देखाइन्छ । जात्रा सकी आज नवदुर्गाका गण पैदलमार्गबाट भक्तपुर फर्कन्छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button