२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना लक्षणमुक्त

रेडियो नेपाल २०७७ पुष १० गते १०:२४

पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ कोरोना लक्षणमुक्त हुनुभएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको एक हप्तापछि उहाँमा कोरोनाको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ सेल्फ आइसोलेसनमा बस्दै आउनु भएको थियो । उहाँले सेल्फ आइसोलेसनस्थलबाटै कार्यालयका कामहरु पनि गर्दै आउनु भएको अधिकारीहरुले बताएका छन् ।

सुरुदेखि नै गम्भीर समस्या नदेखिएकाले क्वारेन्टिनमा बस्न आवश्यक नभएकाले उहाँ घरमै सेल्फ आइसोलेसनमा बस्नु भएको जनाइएको छ ।

“राष्ट्रपति म्याक्रोँलाई अहिले कुनै लक्षण देखिएको छैन,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

सङ्क्रमित भएपनि उहाँले कामलाई निरन्तरता दिनुभएको र मुलुकको महत्वपूर्ण कार्यहरूमा कुनै असर नगरेको अधिकारीहरुको भनाइ छ ।

अघिल्ला दिनमा ४३ बर्षीय राष्ट्रपति म्याक्रोँको अवस्था स्थीर भएपनि बुधबारदेखि भने धेरै सुधार भएको पाइएको छ ।

फान्समा क्रिसमस विदाको बेलामा कोरोनाभाइरसको महामारी थप फैलिनसक्ने चिन्ता धेरैले व्यक्त गरेका छन् भने कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरिएको छ ।

कोरोनाबाट सङ्क्रमित भएका मध्ये फ्रान्समा अहिलेसम्म कम्तीमा ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार बुधबार मात्रै झण्डै १५ हजार नयाँ सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । सोही अवधिमा २७८ जनाको मृत्यु पनि भएको छ ।

फ्रान्समा कोरोनाभाइरस विरुद्धको खोप आगामी आइतबारदेखि दिइने भएको छ । खोप सवैभन्दा पहिला स्वास्थ्यकर्मी र बृद्धबृद्धाहरूलाई दिइने अधिकारीहरूले जनाएका छन् ।रासस/एएफपी

सम्बन्धित