तपाईँ सुन्दै हुनुहुन्छः

सुधारतर्फ गजेन्द्र नारायण सिंह अस्पताल

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अत्याधुनिक प्रविधि लगायत हरेक क्षेत्रमा सुधार गरी रहेको छ ।
अस्पताल प्रशासनले आफ्ना कमजोरीहरूलाई सुधार गर्दै अत्याधुनिक प्रविधि सहितको सेवा तथा सेवाको किसिममा फेर बदल गरी आम जनतालाई लाभ दिने भन्ने उद्देश्यले परिमार्जित गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजित झाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
विगत ६ महिनाको प्रगति विवरण, सेवा सुविधा तथा आगामी दिनको लागि भावी योजना तथा चुनौती बारे जानकारी गराउँदै अस्पतालमा सिटिस्क्यान सेवाका लागि भवन मर्मत सम्भार गरी मेसिन जडान गरी सेवा सुचारु गरिएको छ भने आइसियु सेवा एक महिनाभित्र सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको डा. झाले जानकारी दिनु भयो ।
त्यसै गरी रेफ्रिजेरेटर क्याबिनेटसहितको आधुनिक पोस्टमार्टम भवन, कोभिड अस्पतालका लागि २५ बेडको एचडियु सेवाको काम, कङ्गारु मदर केयरका लागि आवश्यक व्यवस्थापन कार्य सुरु गरिएको छ ।  ३ सय केभिएको ट्रान्सफरमर समेत जडान गरिएको छ ।
त्यसै गरी आवश्यक जनशक्ति करारमा भर्ना गरी सेवा बिस्तार गरिएको बताउँदै अस्पताल प्रवेश गर्ने सडक, कुरुवा घर निर्माणका साथै अस्पतालमा काम नलाग्ने कवाडी अवस्थामा राखिएका सरसामान लिलामी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताउनु भयो ।
साथै अस्पतालले भावी दिनमा व्यवस्थित क्यान्टिन निर्माण, एटिएम जडान तथा बैङ्क बिलिङ काउन्टरको स्थापना, प्रहरी बिटलाई व्यवस्थित र अस्पताल मातहतमा रहेका सटरहरूको मर्मत गरी भाडामा लगाउने तथा सरसफाइलाई व्यवस्थित गर्न टेन्डर प्रक्रियामा गइसकेको झाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button