तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा लिम्बू भाषाको पठनपाठनले निरन्तरता पाउने

झापा । झापाको दमक–७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा लिम्बू भाषाको पठनपाठनले निरन्तरता पाउने भएको छ । विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म याक्थुङ् लिम्बु भाषा ‘आनीपान’ पठनपाठन गर्ने गरी शिक्षक नियुक्त गरिएको जनाएको छ । यसअघि पनि विद्यालयले एक दशक अघिदेखि निजी स्रोतबाट एक जना शिक्षक राखेर ऐच्छिक विषयका रुपमा लिम्बू भाषा पठनपाठन गर्दैआएको थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर राईले दमक नगर शिक्षा समितिले लिम्बु भाषा पठनपाठनका लागि एक जना तृतीय श्रेणीको शिक्षकको सुविधा उपलब्ध गराउने भएपछि लिम्बू भाषा पढाइले नियमितता पाउने अवस्था आएको बताउनुभयो ।
विद्यालयले याक्थुङ् लिम्बु भाषा शिक्षक दिपेन्द सेलिङलाई छनौट गरिसकिएको उहाँले बताउनुभयो । विद्यालयमा अहिले ५० जना विद्यार्थीले लिम्बू भाषाको पुस्तक ‘आनीपान’ पढ्दैआएका छन् ।
किरात याक्थुङ् चुम्लुङ झापाका कार्यवाहक अध्यक्ष शेसेहाङ फियाकले भाषा संरक्षणका लागि स्थानीय सरकारबाट यस्तो सहयोगले भाषा संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । दमक नगरपालिकाले जिल्लामै पहिलोपटक भाषा संरक्षणका लागि विषयगत शिक्षकको दरवन्दी राखेर भाषा प्रवर्द्धनात्मक कार्य सुरुवात गरेर सराहनीय कार्य गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button