२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

चरिकोट डिवाट्स आयोजनाः सहमति तथा वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

रेडियो नेपाल २०७७ पुष ८ गते १८:४३

काठमाडौं । दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा पानी तथा ढल व्यवस्थापनका लागि चरिकोट डिवाट्स आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको उपस्थितिमा भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी र सहरी खानेपानी तथा सरसफाई आयोजना व्यवस्थापन कार्यालयका निर्देशक रामकुमार श्रेष्ठबीच सो आयोजना कार्यान्वयनसम्बन्धी सहमति तथा वित्तिय सम्झांैता पत्रमा हस्ताक्षर भएको हो ।

चरिकोट बजारसहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ मा रहेको बजार क्षेत्रमा प्रशोधन प्रणालीमार्फत् खानेपानी तथा ढल व्यवस्थापनका लागि एशीयाली विकास बैंकको ऋण सहायतामा सो आयोजना निर्माणका लागि आयोजना कार्यान्वयन सहमति तथा वित्तिय सम्झौता गरिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ । आयोजनाको कूल लागत ९१ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ भने त्यसको कूल लागतको १५ प्रतिशत स्थानीय तहले व्यहोर्नु पर्नेछ ।

कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हिमाली जिल्लामा नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको सो आयोजना नमूना आयोजनाको रुपमा अघि बढने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भिमेश्वर नगरपालिका बजार क्षेत्रको खानेपानी तथा ढल व्यवस्थापनका लागि सञ्चालनमा आउने उक्त आयोजना राष्ट्रकै नमूना आयोजना भएकाले त्यसलाई समयमै सम्पन्न गर्न भिमेश्वर नगरपालिका र आयोजना कार्यान्वय कार्यालयलाई आग्रह गर्नुभयो ।

वागमती प्रदेश सभा सदस्य पशुपति चौंलागाँइले आयोजना सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भिमेश्वर नगरपालिकाका मेयर केसीले नगरकै गौरवको आयोजना सञ्चालनका लागि पहल गरिदिएकोमा सञ्चारमन्त्री गुरुङप्रति आभार व्यक्त गर्नुभएको थियो ।

आयोजना कार्यान्वयन कार्यालयका निर्देशक श्रेष्ठले आयोजना सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरुले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबलबहादुर पाण्डे, भिमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, सञ्चारमन्त्री गुरुङका सञ्चारविज्ञ राजेन्द्र मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

हिमाली जिल्लामध्ये दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा यो आयोजना पहिलोपटक सञ्चालनमा ल्याइएको दाबी गरिएको छ । आयोजना संरचना निर्माणका लागि आवश्यक स्थान लगायतका व्यवस्था सरोकारवालाको सहमतिमा भिमेश्वर नगरपालिका आफैंले गर्नेछ ।

सम्बन्धित