तपाईँ सुन्दै हुनुहुन्छः

दलालद्वारा नेपाली चेलीबेटी भारत पुर्‍याउने काम रोकिएन

वीरगन्ज । भारतले गत कात्तिक ५ गतेदेखि एकतर्फी रुपमा नाका खोलेपछि दलालहरूले नेपाली चेलीबेटीलाई आर्थिक प्रलोभनमा पारी लुकिछिपी सीमा नाकाबाट अवैध रुपमा भारत पुर्‍याउने क्रमले तीव्रता पाएको छ ।
पछिल्लो समय वीरगन्ज नाका भएर चेलीबेटी र महिलाहरूको उद्धार गर्ने आफन्त नेपाल संस्थाकी कविता यादवले भारतले सीमा खोलेपछि दलालहरूको आँखा नेपाली चेलीबेटीमाथि परेको र विभिन्न प्रलोभन दिएर उनीहरूले भारतको विहार, युपी, दिल्ली, मुम्बई लगायत सहरहरूमा लैजान लागेको अवस्थामा झन्डै ३ दर्जन भन्दा बढी युवतीहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाएको बताउनुभयो ।
पर्सा जिल्लाको तथ्यांक हेर्ने हो भने चालू आर्थिक वर्षको ५ महिनामा १४ जना बालिका र २४ जना महिला गरी ३८ जनालाई वीरगन्ज नाकाबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सुरुमा फेसबुकबाट साथी बन्ने, त्यसपछि केही दिन संवाद गर्दै भारतमा रोजगारी दिने भन्दै दलालहरूले प्रलोभन देखाउँछन् । त्यसपछि रक्सौलसम्म आफ्नो खर्चमा पुग्ने किशोरीहरूलाई दलालले नै आफ्नै खर्चमा रक्सौलबाट भारतको विभिन्न सहरमा पुर्‍याउने गर्दछन् ।
दलालहरूले देह व्यापारी, रेस्टुरेन्ट, बार लगायत स्थानमा तिनका सञ्चालकसँग मोटो रकम लिएर किशोरी तथा महिलाहरूलाई बेच्ने गरेका छन् । गत आर्थिक वर्षमा पर्सा प्रहरीले ३४ महिला, २८ जना बालिका र १ जना बालक गरी कुल ७३ जनालाई सिमानाकाबाट उद्धार गरी परिवारजनको जिम्मा लगाएको जिप्रका मातहत रहेको महिला तथा बालबालिका सेलकी इन्चार्ज नन्दकला टमाटाले बताउनु भयो ।
विशेष गरी मध्य नेपाल र पूर्वी नेपालको जिल्लाहरूबाट गरिब, विपन्न  परिवारका चेलीबेटीलाई ललाइफकाइ दलालहरूले भारतमा बेच्न लग्ने गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button