तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नरैनापुरमा औद्योगिक ग्राम निर्माण हुने

नेपालगञ्ज । बाँकेको नरैनापुरमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले नरैनापुरमा औद्योगिक ग्राम निर्माणका लागि डिपिआर गर्न बजेट छुट्ट्याएपछि प्रक्रिया अघि बढेको हो ।
त्यसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्ट्याएको छ । औद्योगिक ग्राम बनाउन यसै आर्थिक वर्षभित्र डिपिआर गरिसक्ने घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम थारुले बताउनुभयो । वडा नम्बर ४ मा ५० बिगाहा बढी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने गरी व्यवस्थापन भइरहेको थारुको भनाई छ ।
“यसै आर्थिक वर्षमा डिपिआर हुन्छ, जिल्ला समन्वय समितिको सिफारिसमा प्रदेश सरकारमार्फत यस बर्ष नरैनापुमा औद्योगिक ग्राम स्थापनाका लागि काम अघि बढ्दैछ, गत बर्ष बाँकेमा खजुराबाट औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ,” प्रमुख थारुले भन्नुभयो-“हामीले भखैरै औद्योगिक ग्राम निर्माण स्थलको अनुगमन गरेका छौँ ।”
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख थारु, उद्योग अधिकृत मोहन सुवेदी लगायतले निर्माण स्थलको अनुगमन गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारको घरेलु, साना तथा मझौला उद्योगमार्फत रोजगार सिर्जना गर्ने र क्षेत्रगत असन्तुलन कम गर्दै जाने नीति अनुरूप ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’ को कार्यक्रम अन्तर्गत नरैनापुरमा पनि प्रक्रिया अघि बढेको हो ।  सबै उद्योगहरू एकै ठाउँबाट सञ्चालन गर्ने उद्देश्य अनुरूप प्रदेश सरकारले यो अवधारणा अघि बढाएको हो ।
नरैनापुरमा हुलाकी सडक निर्माण सम्पन्न भएर विद्युतीकरण पनि भइरहेकाले औद्योगिक ग्राम स्थापनाको कार्यले सार्थकता पाउनेछ । औद्योगिक ग्राम स्थापनापछि नरैनापुर ग्रामीण औद्योगिकीकरणको दिशामा अघि बढ्ने अध्यक्ष शाहले बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउनुका साथै रोजगारी सिर्जना हुने भएकाले नरैनापुरको विकास र समृद्धिका लागि औद्योगिक ग्राम कोशेढुंगा साबित हुने अध्यक्ष शाहको विश्वास छ ।
गाउँपालिकाले यसअघि प्रदेश योजना आयोगमा डेलिगेशन गएर औद्योगिक ग्राम स्थापनाको योजना माग गरेको थियो । गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर प्रदेशमा पठाइसकिएको छ ।
“डिपिआरका लागि काम अघि बढेको छ, गाउँपालिकाले आवश्यक सहजीकरण र व्यवस्थापन गर्नेछ, जग्गा व्यवस्थापनदेखि रेखदेख लगायत अन्य काममा हामी सक्रिय भएर लाग्छौँ,” प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भन्नुभयो । नरैनापुरलाई उत्पादन र रोजगारीसँग जोड्न अब सहज हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button