२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानी कुण्डमा घुइँचो

रासस २०७७ पुष ८ गते ७:५४

सिमकोट । हिउँदको याम शुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउनका लागि स्थानीयवासको घुइँचो लाग्ने गरेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातोपानी कुण्डमा यतिबेला नुहाउने र कुण्डमा बस्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।

खार्पु तातोपानी कुण्डमा दैनिक पाँचदेखि १० जना सम्म नुहाउन तथा तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले बताउनुभयो । कर्णाली नदी नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथ रोगका बिरामीहरू बस्नेगरेका छन् ।

तातोपानी कुण्डमा नुहाउँदा बाथ तथा छालासम्बन्धी रोगहरुको उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढाटाढा गाउँबाट पनि मानिसहरु आउने गरेको शाहीले बताउनुभयो । तातोपानी कुण्डमा सरसफाइ गर्न पनि सहज हुने र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानी कुण्ड प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।

खार्पुमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा बाफ लिन राहदेव फुचा, दुर्पा, ठेहे ताक्ला लगायतका गाउँबाट मानिस आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताउनुभयो । हुम्लामा चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातोपानीको कुण्ड रहेका छन् ।

कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिँदा, शरीर तातोपानीको कुण्डमा सेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छालासम्बन्धी सबै रोग निको हुने भएकाले स्थानीयवासीहरु एक सातादेखि १० दिनसम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन ।

सम्बन्धित