तपाईँ सुन्दै हुनुहुन्छः

त्रिरत्न छोर्तेनबाट न्यानो कपडा र खाद्यान्न सहयोग

गण्डकी। मुस्ताङको उपल्लो भेगस्थित न्याम्डो त्रिरत्न (छोर्तेन) पुनःनिर्माण समितिले पोखरामा विभिन्न वृद्धाश्रम तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।

लोमन्थाङ गाउँपालिका–४ न्याम्डो गाउँस्थित उक्त समितिले पोखराको लेखनाथमा रहेका अपाङ्गमैत्री समाजमा आवद्ध ३१ दृष्टि क्षमता कम भएका व्यक्तिलाई न्यानो कपडा ब्लाङ्केटसहित खाद्यान्न वितरण गरेको हो ।

त्यस्तै समितिले पोखरा महानगरपालिका–३२ मा रहेको राधाकृष्ण वृद्धाश्रम, १७ को पोखरा वृद्धाश्रम र मानवसेवा आश्रम, १५ को राष्ट्रिय परोपकार महासङ्घ र १८ बाच्छेबुडुवाको बात्सायन वृद्धाश्रममा ६५ बोरा चामल वितरण गरेको छ ।

उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै त्रिरत्नको संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका असाहय वृद्धवृद्धालाईसमेत सानो भए पनि सहयोग गर्ने उद्देश्यअनुरुप ती सामग्री वितरण गरिएको समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले जानकारी दिनुभयो ।

न्यानो कपडा र खाद्यान्न पाएकोमा आफूहरू निकै खुशी भएको अपाङ्गमैत्री समाजका सदस्य सुशील गोदारले जानकारी दिनुभयो । आगामी दिनमा पनि पोखरा र आसपासका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको लागि सहयोग जुटाएर वितरण गर्ने समितिका सदस्य वाङ्दी गुरुङले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button