तपाईँ सुन्दै हुनुहुन्छः

घरेलु उद्योगमा लगानी बढ्दो

रुपन्देही । रुपन्देहीमा ठूला मात्र नभई साना तथा मझौला उद्योगहरूमा पनि लगानी बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ६ हजार ६ सय ६७ उत्पादनमूलक, ४ हजार २ सय २६ सेवा मूलक, २ हजार ३ सय १४ पर्यटन जन्य, १ हजार ८ सय ४ कृषि तथा वनजन्यु र सञ्चना तथा सञ्चार उद्योग एउटा सञ्चालनमा छन् ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही प्रमुख लक्ष्मण लम्सालका अनुसार यी उद्योगमा झण्डै ३० अर्बभन्दा बढी लगानी रहेको छ । उहाँका अनुसार पछिल्लो डेढ वर्षमा मात्रै १ हजार ९ सय ४८ उद्योग नयाँ खुलेका छन् ।

थोरै लगानीमा सञ्चालन गर्न सकिने र ऊर्जा खपत तथा कामदार सहजै पाइने भएपछि घरेलु तथा साना उद्योगमा लगानीकर्ता आकर्षित भएको उहाँले बताउनुभयो ।

जिल्लामा पछिल्ला वर्षहरुमा खाद्यान्न, काठजन्य, ग्रिल, स्टिल, आल्मुनियम, कृषिजन्य, पर्यटकजन्य उद्योगहरु बढी खुल्ने गरेका छन् । यससँगै हस्तकला, सिलाइ कटाइ ब्युटिपार्लर जस्ता कम लगानीमा सञ्चालन गर्न सकिने उद्योगहरु पनि बढी मात्रामा खुलेको उहाँले बताउनुभयो ।

जिल्लामा सञ्चालित घरेलु तथा साना उद्योगहरुमा मात्रै ३२ हजारले ३ सय १९ जनाले रोजगारी पाएको सरकारी आँकडाले देखाउँछ । यीमध्ये २४ हजार ९ सय १९ पुरुष छन् भने ७ हजार ३ सय ९१ महिला छन् ।

लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले अरु प्रदेशमा भन्दा लुम्बिनी प्रदेश र त्यसमा पनि रुपन्देहीमा उद्योगहरुको बढी सुरक्षा भएका कारणले उद्योगीको आकर्षण जिल्लामा बढेको बताउनुभयो । त्योबाहेक नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारणले पनि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button