तपाईँ सुन्दै हुनुहुन्छः

मदिरा नियन्त्रण अभियानमा महिला

मदिरा नियन्त्रण अभियान अन्तर्गत गाउँमा छलफल गर्दै महिला ।
तस्बिर : सागर परियार

जुम्ला । कनकासुन्दरी गाउँपालिकाका स्थानीय महिला मदिरा नियन्त्रण अभियानमा जुटेका छन् ।

कोरोना कहरका बीच गाउँ बस्तीमा जाँडरक्सी, जुवा तासको बिगबिगीसँगै घरेलु हिंसा बढेपछि स्थानीय महिला मदिरा नियन्त्रणमा जुटेका हुन् ।

कनकासुन्दरी गाउँपालिका–३ की गौकला थामी गाउँमा मदिरा विरोधी अभियानमा सक्रिय हुनुहुन्छ  । जाँड रक्सीको सेवाले हुने नोक्सानी तथा घरमा हुने द्वन्द्वका बारेमा गाउँगाउमा पुगेर थामीले सहजीकरण गर्नुहुन्छ ।

“गाउँका महिला एकजुट भएपछि मदिरा सेवन गरेर हो-हल्ला गर्ने कार्य रोकिएको छ । समाज परिवर्तनको दिशातिर अघि बढेको छ । हाम्रो समाज मदिराले लठ्ठ हुँदा परिवर्तनको आभास हुन सकिरहेको थिएन । अहिले जाँडरक्सी खाने जुवा तास खेल्ने अधिकांश पुरुष सचेत भएका छन् ।”

गाउँ गाउँमा मदिरा नियन्त्रणको लागि समूह गठन नै गरेर मदिरा नियन्त्रण अभियानमा जुटेको समेत गौकला थामीको भनाई छ । प्रत्येक महिनाको एक दिन मदिरा नियन्त्रण र नियमनका विषयमा छलफल गर्ने गरिएको छ । जिल्लाकै नमुना अभियानका रुपमा कनकासुन्दरीका महिला सक्रिय भएर जुटेका छन् ।

कनकासुन्दरी–६ की जैसरा कामीले कोरोना नियन्त्रणका लागि गत चैतबाट जारी लकडाउनमा  बढ्दो मदिरा सेवनले घरेलु हिंसा बढेपछि अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला जति घरायसी काममा जोतिने र पुरुष जति मदिरा, जुवा तास जस्तो कुलतमा लाग्ने कार्य निकै भयो ।  त्यसपछि सबै महिला मिलेर मदिरा विरोधी अभियान थाल्यौँ । अहिले गाउँमा मदिरा बेचबिखन र सेवन  पूर्ण बन्द भएको छ । भने, यद्यपि  भेटिएको खण्डमा समूहको नियमानुसार कारबाही हुने गरेको छ ।”

जिल्लाका आठै स्थानीय तहका स्थानीय महिला युवा, अन्य क्लबहरूले यस्तै अभियान सञ्चालन गरेको खण्डमा समाजका विकृति उन्मुलनमा सहज हुने शान्ति सुरक्षा कायम हुने डिएसपी माधव प्रसाद काफ्लेको भनाई छ । कनकासुन्दरीले महिलाले उदाहरणीय रुपमा सञ्चालन गरेको अभियानको प्रशंसा गर्दै जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

कनकासुन्दरीका १ देखि ७ वटै वडामा मदिरा नियन्त्रण समूह गठन गरी सक्रियताका साथ अघि बढेको कनकासुन्दरी ७ की जुनदेबी प्याकुरेलले बताउनुभयो ।

आजभोलि अभियानमा पुरुषहरूले पनि साथ दिन थालेपछि गाउँका पीडित महिला निकै खुसी भएका छन् ।  महिलाले पनि समाज परिवर्तन गर्न सक्छन् भन्ने उदाहरण दिन पनि कनकासुन्दरीका महिला खटिएर अभियानमा जुटेका हुन् ।

कनकासुन्दरी ४ का वडाध्यक्ष दिव्यलाले नेपाल गाउँमा मदिरा बेचबिखन र सेवन गर्ने कार्य न्यूनीकरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलाको अभियानमा वडा सरकारको साथ रहन्छ । प्रहरीले पनि मदिरा विरोधी अभियानमा साथ दिएकै छ । मदिरा नियन्त्रण अभियान दिगो बनाउन सबै जुट्नै पर्छ ।” गाउँपालिकासँग समन्वय गरेर मदिरा सेवन मुक्त पालिका घोषणका लागि छलफल चलाइने समेत वडाध्यक्ष नेपालको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button