२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

कठ्याँग्रिदो जाडो र शितलहरबाट मध्यतराईको जनजीवन प्रभावित

ध्रुव अधिकारी २०७७ पुष ४ गते १६:३०

वीरगञ्ज । कठ्याँग्रिदो जाडो र शीतलहरका कारण बारा, पर्सा, रौतहट लगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै गएको छ । आज बिहानैदेखि चलेको शीतलहर र कठ्याँग्रिदो जाडोले विहान मानिसहरुलाई हिँडडुल गर्न समेत समस्या भएको थियो ।

बाक्लो हुस्सुको कारण सवारीसाधनहरुलाई आवतजावत गर्न समेत समस्या भएको छ । एक्कासि बाक्लो हुस्सु लागेपछि सवारी चालकहरुलाई समेत समस्या भएको छ ।

शीतलहरसँगै बढ्दै गएको चिसोका कारण विशेष गरी वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु देखिएको नारायणी अस्पतालका चिकित्सक डा.निरज सिंहले बताउनुभयो ।

कोरोना संक्रमणसँगै चिसोका कारण निमोनिया र कोल्ड डायरियाका बिरामीहरुको संख्या बढ्न सक्ने हुँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन तथा तातो झोलिलो पदार्थ सेवन गर्न, सकेसम्म घरबाट बाहिर ननिस्कन चिकित्सक सिंहले  सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

बाक्लो हुस्सुका कारण बाटो समेत ढाकिने हुँदा सम्भावित दुर्घटनाबाट बच्नको लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवतजावत गर्न चालकहरुलाई आग्रह गरेको छ । साथै चिसोका कारण विद्यालय तथा कलेजको पठन पाठन समेत प्रभावित भएको छ ।

कोरोना संक्रमणको कारण झण्डै ८ महिनापछि खुलेका विद्यालय तथा कलेजमा जाडोको कारण विद्यार्थीहरुको संख्या न्यून रहेको स्थानीय विद्यालय तथा कलेजका प्रधानाध्यापकहरुले जनाएका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंंको सबैभन्दा नजिक रहेको सिमरा विमानस्थलका उडान समेत बाक्लो हुस्सुका कारण प्रभावित भएका छन् । बिहानका उडानहरु डिले हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सिमराले जनाएको छ ।

जाडो बढेसँगै जिल्ला विपद् व्यवस्थापन केन्द्रले स्थानीय पालिकाको समन्वयमा नगरपालिका र गाउँपालिकाका विभिन्न चोकमा आगो बाल्ने व्यवस्था मिलाएको तथा ७० वर्ष भन्दा माथिका विपन्न वर्गका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने तयारी थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिनुभयो ।

जाडो बढेसँगै वीरगञ्ज लगायत वारा, पर्साका ग्रामिण क्षेत्रहरुमा चोक गल्लीहरुमा आगो तथा घुर बालेर ताप्नेहरुको संख्या बढदै गएको छ । स्थानीय बासिन्दाले तत्काल दाउराको व्यवस्था गर्न सम्बन्धित पालिका तथा प्रशासनसँग माग गरेका छन् ।

यसैबीच बढदो चिसोलाई ध्यानमा राखी आशा किरण केन्द्र वीरगञ्जले वृद्ध एवं असहाय परिवारहरुलाई कम्बल वितरण गरेको छ ।

बढ्दो चिसोबाट जोगिन वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३१ का लक्ष्मीपुर मुसहर बस्ती र नैका टोलका दलित बास्ती र बेलवामा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले १ सय ३० थान कम्बल वितरण गर्नुभएको आशा किरण केन्द्र वीरगञ्जका सचिव राजन श्रीवास्तवले बताउनुभयो ।

आशा किरण केन्द्रका अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रका सचिव राजन श्रीवास्तव, कोषाध्यक्ष सन्दिप मोहता, सदस्य डा.अशोक दास,सुमिर कुमार, अनिल चौधरी, पिन्टु उपाध्याय, राधेश्याम गुप्ता लगायत स्थानीय बादिन्दाहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित