तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सि चिनिफिङद्धारा फ्रान्सेली राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

पेरिस। चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई हालैमात्र कोरोना भाइरस पोजेटिभ देखिएको समाचारमा आएको थियो । बिहीबार मात्र म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । हाल उहाँ आइसोलेसनमा बस्नुभएको उहाँको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो । राष्ट्रपति सि चिनफिङले सान्त्वना दिँदै फ्रान्सेली राष्ट्रपतिलाई शुक्रबार नै सो सन्देश पठाउनुभएको बताएको उहाँलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उहाँ आइसोलेसनमा बस्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले बिहीबार जानकारी गराएको थियो । सोही बमोजिम उहाँ हाल आइसोलेसनमा हुनुहुन्छ ।

राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति कोरोना भाइरस पोजेटिभ देखिएको भन्ने समाचारले आफूलाई र चिनियाँ नागरिकलाई नराम्रो लागेको भन्दै चाँडै नै स्वास्थ्यलाभ गर्न कामना गर्नुभएको सो सन्देशमा जनाइएको छ । साथै राष्ट्रपति चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र सबै फ्रान्सेली जनतालाई अहिले त्यहाँ बढ्दो मात्रामा देखिएको महामारीका विरुद्धमाा लड्न सक्ने शक्ति प्राप्त होस् भनेर पनि कामना गर्नुभएको छ ।

राष्ट्रपति म्याक्रोँ आगामी मंगलबार र बुधबार लेबनान जाने कार्यक्रम रहेकोमा अब उहाँ कोरोना पोजेटिभ देखिएपछि सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर फ्रान्सका प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको छ ।

यसैबीच राष्ट्रपति म्याक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उहाँको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बसेका बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहनुभएकोले उहाँलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button