२०७८ साल मंसिर १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

पदयात्रा मजदुरका गुनासो : ‘न काम न माम’

जमुना वर्षा शर्मा २०७७ पुष ४ गते १२:४१

पोखरा। बन्दाबन्दी खुकुलो भएसँगै बढेको चहलपहलले वर्षौँदेखि पथप्रदर्शक गर्ने पर्यटन मजदुर रमाउन सकेका छैनन् । तीस वर्षदेखि ट्रेकिङ पेशामा आवद्ध शेषकान्त शर्मा अब पहिलेजस्तै पर्यटकको हुललाई हिमाल देखाउँदै नेपालको रहनसहन संस्कृतिको बेलीविस्तार लगाउने दिन कहिले आउँला भन्ने पर्खाइमा हुनुहुन्छ । “म ३० वर्ष भयो, घुम्न रुचि राख्ने, रुचिअनुसारकै पेशामा रमाइरहेको थिएँ, विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसको कारण रोजीरोटी नै गुम्यो, अर्को विकल्प पनि सोचिएन, निकै गाह्रो भएको छ ।”

उहाँले कोरोना कहरले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई प्रभाव पारेका अनुभव सुनाउनुभयो । “अरु उद्योग, व्यवसाय त विस्तारै गति लिँदैछ, तर विदेशी पर्यटक नै नआएपछि हाम्रो पेशाको विकल्प के ?” उहाँले अहिलेको अवस्थामा पदयात्रा मजदुर बढी समस्यामा रहेको बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा पनि तीन तहका मजदुर छन् । पहिलो तहका पर्यटन मजदुर हिमाल आरोहणमा संलग्न छन्, दोस्रो तहका पथप्रदर्शकको रूपमा छन् भने तेस्रो तहका मजदुर सहयोगीको रूपमा भारी बोक्ने, भान्साको काममा सघाउने, पाल टाँग्ने कार्यमा संलग्न छन् । पहिलो तहका मजदुर साहसिक कार्यसँग जोडिएकाले उनीहरुलाई सहयोग पनि आउन सक्ने साथै छिट्टै निरास भइहाल्ने अवस्थाका उनीहरु छैनन् । दोस्रो तहको पर्यटन मजदुर पथप्रदर्शक हुन् जो सहयोग माग्न पनि नजाने र विकल्पको खोजी पनि नगरी आशावादी भएर बसेका छन् ।

त्यसैगरी तेस्रो तहका मजदुर विकल्पको खोजी गरेर यस क्षेत्रबाट पलायन भइसकेका छन् । उहाँले तेस्रो तहका अधिकांश मजदुर विकल्पको खोजी गरेर अन्य काममा संलग्न भएको जानकारी दिनुभयो । बाह्य पर्यटकको आगमन ठप्प हुँदा सबैभन्दा मर्कामा पथप्रदर्शक नै भएको उहाँको अनुभव छ ।

यसै क्षेत्रमा नौ वर्षदेखि पथप्रदर्शकको काम गर्दै आउनुभएकी जुम्ला सिञ्जाकी ३३ वर्षीय सुशीला आचार्य अहिले ‘न काम न माम’ को अवस्था भोग्नुपरेको बताउनुहुन्छ । “जीवनको नौ वर्ष यही क्षेत्रमा बिताइयो, हिमाल पहाडका ढुङ्गा माटो, वनपाखा, छहरा छाँगासँग पीडा बिसाइयो, देशको संस्कृतिबारेमा बेलिविस्तार लगाउँदै विदेशीलाई नेपाल चिनाउन प्रत्यक्ष अप्रत्यक्षरूपमा कति भूमिका खेलियो खेलियो, तर अहिले रोजीरोटीको समस्या हुँदा न त सरकारले चासो दिन्छ न त अन्य सङ्घसंस्थाले नै ।” उहाँले अझै पनि आशावादी हुँदै पर्यटकको आगमनको दिन कुरेर बसेको बताउनुभयो ।

पाँच वर्षदेखि पथप्रदर्शकको काम गर्दै आउनुभएका पर्वत मोदी गाउँपालिका वडा नं २ का ३० वर्षीय कृष्ण पोखरेलले कोभिड–१९ का कारण जीविकोपार्जनमै समस्या भएको जानकारी दिनुहुन्छ । “हाम्रो पेशा छ महिना काम गरेर त्यसैबाट वर्ष दिन पालिनेमा पर्दछ, पर्यटकीययामको मुखमै महामारीको चपेटामा प¥यौँ, पर्यटकीय गतिविधि शून्य हुँदा हातमुख जोर्ने समस्या हामीमध्ये धेरै साथीले भोगेका छौँ”, उहाँले भन्नुभयो । पोखरेलले यस क्षेत्रका मजदुरलाई वैकल्पिक रोजगार दिएर यस क्षेत्रबाट विस्थापित हुनदेखि जोगाउनुपर्ने बताउनुहुन्छ । अहिलेको अवस्थामा पदयात्रा मजदुरलाई वैकल्पिक रोजगारको व्यवस्था गर्नुपर्छ यदि उनीहरु अन्य पेशातिर गए भने आउने दिनमा यस क्षेत्रमा दक्ष जनशक्तिको खाँचो हुनसक्ने उहाँको तर्क छ । उहाँका अनुसार पथप्रदर्शकले दिनको एक हजार ५०० देखि दुई हजारसम्म पारिश्रमिक लिने पाउने गरेका छन् ।

त्यस्तै विगत १३ वर्षदेखि पथप्रदर्शकको रुपमा काम गर्दै आउनुभएका विपीनराज सापकोटा पनि वर्तमान सङ्कटले रोजीरोटीको समस्या निम्त्याएकोे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पेशा प्रत्यक्ष पर्यटकसँग जोडिएको छ, अझै पनि कोभिड–१९ को महामारी उस्तै छ, आन्तरिक पर्यटकको केही चहलपहल देखिए पनि बाह्य पर्यटक तत्काल आउने अवस्था देखिँदैन । यसले लामै समय पर्यटन क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ ।” उहाँले अब विकल्प खोजिएन भने भोकै बस्नुपर्ने दिन आउने बताउनुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले देशको रहनसहन र संस्कृति विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिने पथप्रदर्शक रोजगारी गुम्दा समस्यामा परेको बताउनुभयो । “पथप्रदर्शकले हाम्रो देशको रहनसहन संस्कृतिलाई विश्वभर चिनाउन भूमिका खेलिरहेका हुन्छन्, पर्यटकीय गतिविधि ठप्प हुँदा यस क्षेत्रका मजदुरको जीविकोपार्जनमै समस्या देखिएको छ ।”

पौडेलले पदयात्रा मजदुरका लागि कल्याणकारी कोषमा जम्मा भएको रकमबाट वैकल्पिक काम दिएर जीवनयापन सहज बनाउनुपर्ने कुरा टानले पटक–पटक उठाउँदै आएको स्मरण गराउनुभयो । “राज्यले लागू गरेका टिम्समा (ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम) नेपाल पर्यटन बोर्ड र टानबीच सम्झौता भएर मजदुर कल्याणकारी कोषको लागि १० प्रतिशत छुट्याए पनि त्यसको सदुपयोग हुनसकेको छैन, टान यही समयमा नै उक्त रकमबाट मजदुरलाई रोजगार दिनुपर्ने आवाज उठाउँदै आएको छ”, उहाँले भन्नुभयो ।

अहिले नेपाल पर्यटन बोर्डमार्फत पाइलट प्रोजेक्टको रुपमा मादी गाउँपालिका र अन्नपूर्ण पालिकाअन्तर्गत हिमाल सरसफाइ, पदमार्ग निर्माण मर्मतसम्भारलगायतका कार्यमा करिब १०० पथप्रदर्शक र सहयोगी रोजगारमा संलग्न भएको जानकारी दिनुभयो । यस क्षेत्रका दक्ष जनशक्ति पलायन हुनबाट रोक्नका लागि अझै थप तालिम प्रदान गर्दै जीविकोपार्जनका लागि पनि कुन–कुन क्षेत्रमा कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको उहाँको भनाइ छ । उहाँका अनुसार मेघा प्रोजेक्टकै रूपमा यस क्षेत्रका मजदुरको आर्थिक अवस्थाको वर्गीकरण गरेर सोको आधारमा प्राथमिकता दिएर रोजगारमा संलग्न गराउन पहल गरिनेछ । टानमा आवद्ध १५९ कम्पनी रहेका छन् भने पोखरामा करिब एक हजार ६०० अनुमतिपत्र प्राप्त पथप्रदर्शक र भरिया छन् ।

पर्यटक मजदुरसम्बद्ध संस्था युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसी पर्यटनमा आश्रित व्यवसाय र त्यही क्षेत्रमा कार्यरत मजदुरहरू वैकल्पिक पेशा खोज्दै यस क्षेत्रबाट विस्थापित हुँदै गएको बताउनुभयो । “लामो समय भयो, पर्यटन क्षेत्र ठप्प छ, यस क्षेत्रका मजदुरलाई भोकै बस्न बाध्य छन्”, उहाँले भन्नुभयो, “वैकल्पिक रोजगार दिने भन्ने कुरा पनि हात्तीको देखाउने दाँत मात्र भयो, वास्तविक मजदुरले कहीँकतै काम पाएका छैनन् । रोजीरोटीको लागि काम नपाउँदा पदयात्रा मजदुरमा निकै निराशा छाएको छ ।” उहाँले पदयात्रा मजदुर स्वयं वैकल्पिक पेशा नखोज्ने हो भने जीविकोपार्जनमा थप सङ्कट आउने बताउनुभयो ।

नेपाल आउने पर्यटकमध्ये ७० प्रतिशत पर्यटक विभिन्न पदयात्रामा पुग्ने गरेको पर्यटन व्यवसायीले भन्दै आएका छन् । पथप्रदर्शकका लागि एसएलसी पास गरेको र दुई वर्ष ट्रेकिङ क्षेत्रमा काम गरेका अनुभवीलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बाट प्रारम्भिक चरणमा एक महिना तालिम प्रदान गर्ने गर्दछ । यसरी तालिमप्राप्त गरेपछि प्रमाणपत्र लिएकालाई पर्यटन कार्यालयले अनुमतिपत्र दिने गरेको छ । नेपालको संस्कृति र सौन्दर्यतालाई विश्वमा चिनाउन पर्यटकलाई पथप्रदर्शकको ठूलो भूमिका रहने गरेको छ ।रासस

सम्बन्धित