तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी विभाजन हुँदैन : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताउनुभएको छ । नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताउनुभएको हो ।

“पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनाँै”, मन्त्री गुरुङले भन्नुभयो, “मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ ।” उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उहाँको इमान्दारिताबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच सञ्चारमन्त्री गुरुङले आज बिहान भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको शिलान्यास गर्नुभयो । साथै, मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाले तयार पारेको ‘भीमेश्वर नगर बृहत योजना’ को समेत विमोचन गर्नुभयो । तीनदिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका मन्त्री गुरुङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन समेत गर्ने कार्यक्रम छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button