तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेश खेलकूद परिषद् चाँडै गठन हुने’

मोरङ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश खेलकूद परिषद् चाँडै गठन गर्ने जानकारी दिँदै सङ्घीयता स्थापनापछि खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै उपाधि हासिल गरी राष्ट्रको नाम विश्वस्तरमा राखेको बताउनुभएको छ । आइटिफ तेक्वान्दो सङ्घद्वारा शुक्रबार आयोजित प्रदेशस्तरीय प्रथम तेक्वान्दो टेक्निकल समिनार कोर्सको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर यस क्षेत्रका राष्ट्रिय प्र्रतिभालाई सम्मान गर्ने गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकार यस क्षेत्रमा एक पालिका एक मैदान अवधारणाले काम गरिरहेको जानकारी दिँदै खेलकूदको आवश्यक विकासका लागि चाहिने पूर्वाधार एवं प्रशिक्षण उपलब्ध गराई खेलकूदको विकास गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी मोरङका अध्यक्ष एवं आइटिफ स्थापक जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले खेलाडीले अनुशासित भई विश्व खेल प्रतिस्पर्धामा नेपालको नाम उच्च राख्न शुभकामना दिनुभयो । आइटिएफका केन्द्रीय अध्यक्ष अन्जन धमलाले कोरोना माहामारीबाट सबैभन्दा पीडित खेलकूद क्षेत्र भएको बताउँदै खेलकूद सङ्घसंसको नेतृत्व राजनीतिक भागबण्डाले चयन हुँदा यस क्षेत्रले फड्को मार्न नसकेको बताउनुभयो । प्रदेशका १३ जिल्लाका पाँच वर्षदेखि २३ वर्षसम्मका दुई सय खेलाडीले दुई दिने सेमिनारमा सैद्धान्तिक प्राविधिक, व्यावहारिक, आत्मसुरक्षा र निर्णायक सम्बन्धमा प्रशिक्षण लिने बताइएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button