तपाईँ सुन्दै हुनुहुन्छः

जेष्ठ नागरिक र अशक्तलाई घरदैलोमै परिचयपत्र वितरण

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले जेष्ठ नागरिक तथा अपांग व्यक्तिलाई घरदैलोमै पुगेर परिचयपत्र वितरण गरेको छ । घुम्ती शिविर मार्फत नगरपालिका भित्रका विशेष अवस्थाका नागरिकहरुको राहतका लागि घरदैलोमै पुगेर परिचयपत्र वितरण गरिएको हो ।

घरदैलोमै पुगेर वडा नम्वर ८ र ९ का २५ जना अपांग व्यक्ति र ८ जना जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवि महतले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अपांगता भएका व्यक्तिहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर परिचयपत्र वितरण गरेका हौ । पूर्ण अशक्त भएका अति अशक्त अपांगता तथा विशेष अवस्थाका जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।”

संघियतापछि अधिकांश सेवा गाउँमै पुगेको अवस्थामा परिचयपत्र पाउन दैनिक धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै नगरपालिकाले घरदैलोमै परिचयपत्र दिँदा अन्य स्थानीय तहलाई पनि सिकाई भएको नगरपालिकाका मेयर कान्तिका सेजुवालको भनाई छ ।

महिला तथा बालबालिका शाखा जुम्लाका महिला निरिक्षक पुष्पा थापाले आगामी दिनमा पनि पुर्ण अशक्त तथा ७० नाघेका जेष्ठनागरिकलाई नगरपालिकाले घरमै पुगेर परिचयपत्र र भत्ता वितरण गर्ने बताउनुभयो ।

परिचयपत्र लिन छुटेकाहरूलाई पनि नगरपालिकाले कार्यालयमै परिचयपत्र वितरण गर्ने उहाँको भनाइ छ । अपांगता भएका व्यक्तिहरूले प्राप्त गरेको परिचयपत्र अनुसार राज्यबाट पाउने सेवा सुविधा लिन पाउने उहाँको भनाई छ ।

अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्र भएकाहरूलाई राज्यले हवाइ टिकट, बसभाडा, अस्पतालमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । परिचयपत्र भएका ज्येष्ठ नागरिकलाई यात्रा र उपचारमा सहज हुने समेत नगरपालिकाले जनाएको छ । नगरपालिकाले बेला बेला अपांग जेष्ठ नागरिकलाई हर्लिक्स, कम्बल वितरण गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button