तपाईँ सुन्दै हुनुहुन्छः

५ महिनामा सवारी कारबाहीबाट ११ लाख बढी राजस्व संकलन

अछाम । अछाम जिल्लामा सवारी साधनको कारबाहीबाट ५ महिनाको अवधिमा ११ लाख बढी राजस्व संकलन भएको छ । यस आर्थिक बर्षको श्रावण देखि मंसिर महिना सम्मको तथ्यांक अनुसार ११ लाख ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय साँफेबगरले जनाएको छ ।

जिल्लामा कारबाहीमा परेका बस, ट्रक, जिप, ट्याक्टर, मोटरसाईकल र अन्य गरी ५ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय साँफेबगरका देवेन्द्र खड्काले बताउनुभयो ।

खड्काका अनुसार ट्राफिक नियम विपरीत चलेका सवारी साधनको कारबाहीबाट श्रावण महिनामा १ लाख ७३ जार ५ सय, भाद्र महिनामा १ लाख ६ हजार, असोज महिनामा २ लाख ६७ हजार ५ सय, कार्तिक महिनामा ३ लाख २६ हजार र मंसिर महिनामा २ लाख २७ हजार ५ सय राजस्व संकलन भएको छ ।

श्रावण महिनामा २ सय ७३, भाद्र महिनामा १ सय ८२, असोज महिनामा ४ सय ६१, कार्तिक महिनामा ५ सय ६७ र मंसिर महिनामा ३ सय ७० गरी १८ सय ५४ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् ।

सबैभन्दा बढी कार्तिक महिनामा र सबैभन्दा कम भाद्र महिनामा सवारी साधन कारबाहीमा परेर उक्त राजस्व संकलन भएको हो । गत आर्थिक बर्षमा ३८ सय ५७ सवारी साधन कारबाहीमा परी २२ लाख ४७ हजार ५ सय राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button