तपाईँ सुन्दै हुनुहुन्छः

सुकेटार गुप्ते सूर्याेदय अवलोकन गन्तव्य बन्दै

ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट शुक्रबार बिहान देखिएको सूर्योदय । तस्बिरः दिलकुमार लिम्बु/रासस

फुङ्लिङ। सूर्योदय भन्नेबित्तिकै पोखराको साराङकोट र पूर्वको इलामको श्रीअन्तु हाम्रो मानसपटलमा आउँछ । पछिल्लो समयमा ताप्लेजुङको सुकेटार गुप्तेडाँडाबाट सूर्योदय हेर्न आउनेको पर्यटकको खुइँचो लाग्न थालेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ सुकेटार गुप्तेडाँडामा सूर्योदय हेर्न सूर्यको पहिलो झुल्कोको दर्शन गर्न आउनेको भीड लाग्न थालेको छ । पछिलो समय स्थानीयवासीले सनराइज भ्यू प्वाइन्ट भन्ने नामकरण गरेसँगै प्रचारमा आउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक सूर्यको पहिलो झुल्को हेर्न आउन थालेका छन् ।

बिहान ६ बजेर १६ मिनेटमा गुप्तेडाँडाको सनराइज भ्यू प्वाइन्टबाट प्रत्यक्ष सूर्योदय भएको अवलोकन गर्न सकिन्छ । सूर्यको पहिलो झुल्कोको दर्शन गर्न तथा सूर्योदयको अवलोकन लागि अहिले दिन प्रतिदिन आन्तरिक तथा बाह्य पर्यटक थर्मसमा चिया, खाजा बोकेर बिहान ५ बजे सनराइज भ्यू प्वाइन्टमा पुग्ने गर्दछन् ।

सूर्योदयको अवलोकनसँगै विश्वको अग्लो हिमाल सगरमाथा र विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल साथै अन्य हिमालको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने भएकाले हिमालको दृश्य र सूर्यको पहिलो झुल्कोसँग फोटो खिच्नेको भीड बढ्दो छ । सूर्योदय भएको अवलोकन गरी सकेपछि पर्यटक आफूले लिएर आएको चिया खाजा खाएर फर्किने गर्दछन् । विगतका वर्षहरुमा प्रचारप्रसार हुन नसकेको सनराइज भ्यू प्वाइन्ट अहिले ताप्लेजुङको पर्यटकीय गन्तव्यको लागि एक सनराइज भ्यू प्वाइन्ट थपिएको ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९, सुकेटार गुप्ते डाडाँको दृश्यावलोकन केन्द्रबाट शुक्रबार बिहान देखिएको सूर्योदय । तस्बिरः दिलकुमार लिम्बु/रासस

भक्तपुरको नगरकोट र इलामको श्रीअन्तुको सूर्योदय अवलोकन गर्न आफू पुगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “इलामको श्रीअन्तु र ताप्लेजुङको सनराइज भ्यू प्वाइन्टबाट एकै किसिमले सूर्योदयको अवलोकन गर्न सकिने रहेछ ।” ताप्लेजुङको सनराइज भ्यू प्वाइन्ट आफैँमा प्राकृतिक भ्यू टावर भएकाले आकाशे पुल निर्माण गरेर अर्को डाँडामा स्तम्भ बनाएर त्यस ठाउँबाट पनि सूर्योदयको अवलोकन गर्ने स्थान बनाउनु आवश्यक रहेको समन्वय प्रमुख मादेन बताउनुहुन्छ ।

ताप्लेजुङ धार्मिक हिसाबले पनि चिनिएको जिल्ला हो । वर्षमा हजारौँ सङ्ख्यामा पाथीभरा देवीको दर्शन गर्न आउने गर्दछन् । सनराइज भ्यू प्वाइन्ट पनि पाथीभरा क्षेत्रमै भएकाले पाथीभराको दर्शनसँगै सूर्यको पहिलो झुल्कोको दर्शन गर्न सकिने लिम्बूले बताउनुभयो ।

ताप्लेजुङको पर्यटकीय स्थलमध्ये सुकेटार गुप्तेडाँडाको सनराइज भ्यू प्वाइन्ट पनि एकचोटी सूर्योदय भएको अवलोकन गर्न पुग्न आवश्यक रहेको पक्ताङ्लुङ गाउँपालिका–६ विशस लिम्बूले बताउनुभयो । पर्यटकीय स्थलरुपमा प्रवद्र्धन गर्नका लागि सूर्योदय अवलोकन गर्ने स्थानको घेराबार तथा आवश्यक संरचना निर्माण गर्नका लागि फुङलिङ नगरपालिकाले गत आर्थिक वर्ष रु १० लाख विनियोजन गरेर काम सम्पन्न भइसकेको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपती प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो चुनावी घोषणापत्रमा पनि सनराइज भ्यू प्वाइन्टलाई पर्यटकीयस्थल बनाउने उल्लेख गरेको छु र मेरो कार्यकालसम्म आवश्यक भौतिक संरचना निर्माण हुन्छ”, सूर्योदयको दर्शन गर्न आउनेको आन्तरिक तथा बाह्य पर्यटकको लागि भ्यू प्वाइन्टको नजिकै टी हाउस निर्माण गर्ने योजना रहेको प्रमुख प्याकुरेलले बताउनुभयो ।

सनराइज भ्यू प्वाइन्टसम्म सूर्योदय अवलोकन गर्न जान पदमार्ग निर्माणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस आवमा रु १० लाख विनियोजन गरिएको पर्यटनमन्त्रीका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि कालोपत्रे सडक हुँदै पाँच किलोमिटर दूरीमा सुकेटार विमानस्थल पर्दछ र सुकेटारदेखि करीब एक किलोमिटरमा गुप्ते पर्दछ । गुप्तेमा सूर्योदय हेर्न जानेको लागि गुप्तेमा गाडी पार्किङ स्थल निर्माण गरेको छ । गाडी पार्किङ गरेर करीब १० मिनेट पदमार्गमा हिँडेर भ्यूटावरसम्म पुग्न सकिन्छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button