तपाईँ सुन्दै हुनुहुन्छः

बादँरबाट खेतिपाती जोगाउन बजेट बिनियोजन

फाइल तस्बिर

पर्वत । किसानले लगाएको बालिनाली बाँदरले सखाप पार्न थाले पछि यहाँका स्थानिय पालिकाहरुले किसानको खेतिपाती जोगाउन बजेट बिनियोजन गर्न थालेका छन् । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण कार्यक्रमको लागि १४ लाख रुपैयाँ छुट्याएको छ ।

बाँदरले बालीनाली सखाप पारिदिँदा किसानको मिहिनेत खेर जानुका साथै जग्गा नै बाँझो छोड्नुपर्ने बाध्यता भएपछि बाँदर नियन्त्रणको योजना पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानाकारी दिनुभयो । उहाँका अनुसार कृषकहरूको गुनासो निकै बढेपछि मंसिर १९ र २० गते बसेको बैठकबाट बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।

पौडेलका अनुुुुसार बाँदरले केही नराखेपछि किसानहरूले जग्गा नै बाँझो छोड्नुपर्ने अवस्था आएको भनेर निकै गुनासो आउन थालेका कारण बैठक बाट नै बजेट छुट्याइएको बताउनुभयो ।

यसअगाडि पर्वतकै महाशीला गाउँपालिकाले पनि बाँदर नियन्त्रण कार्यक्रम चलाएको थियो । सो कार्यक्रमले किसानले लगाएको बालि जोगिएको छ भने अन्य जिल्लामा यस्ता खालका कार्यक्रम ल्याएर खेती जोगिएको हुदाँ किसानको समस्यालाई केन्द्रमा राखेर यो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानाकारी दिनुभयो ।

महाशीला गाउँपालिकाले बाँदरलाई जाल र खोरमा पारेर राष्ट्रिय निकुञ्जहरूमा लगेर छाड्ने गरेको भए पनि पैयुँ गाउँपालिकाले भने बाँदर नछोपी खेती गर्ने जग्गाको नजिक रहेका रुखहरू सफा गर्ने भएको छ ।

फाइल तस्बिर

अधिकृत पौडेलका अनुसार खेतीपाती गर्ने ठाउँमा रुखहरू हुर्काउँदा बाँदरलाई बस्न सहज हुने र लखेटे पनि त्यहीँ लुक्ने भएकाले उब्जाउ जमिन आसपासमा रहेका रुख तथा फोहोरहरू हटाउने निर्णय भएको हो । यसका लागि गाउँपालिकाले विनियोजन गरेको बजेटबाट रुखहरू हटाउनको लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था वडा वडामा गर्ने भनिएको छ ।

पैयुँमा उब्जाउ जमिन भए पनि बाँदरकै समस्याका कारण किसानहरूले व्यावसायिक रूपमा खेतीपाती गर्न चुनौती भोगिरहेका छन् । बथानमा आएका बाँदरले केही बेरमा लगाइएका खाद्य बाली सखाप पार्दै आएका कारण लगानी खेर जाने भएकोले कृषिमा लाग्न जोखिम भएको उनीहरूको गुनासो छ । अन्य जिल्लामा यसरी बादरबाट खेतिपाति जोगाउने कार्यक्रम प्रभावकारी हुन नसके पनि पर्वतमा भने यस्ता कार्यक्रम बाट कृषकहरु कृषिपेशा गर्न तर्फ आकर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button