तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशद्वारा लालपुर्जा वितरणका लागि २८ वटा स्थानीय तहसँग सम्झौता

चितवन । भूमि सम्बन्धी समस्या समाधान आयोगले लालपुर्जा वितरणका लागि बागमती प्रदेशका २८ वटा स्थानीय तहसँग सम्झौता गरेको छ ।
लालपुर्जा वितरण प्रक्रिया सुरु गर्न आयोगले ती स्थानीय तहसँग  हेटौँडामा सम्झौता गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको उपस्थितिमा भएको कार्यक्रममा सोही प्रदेशका २८ वटा पालिकासँग सम्झौता गरेको थियो ।
बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका र मकवानपुरको बागमती गाउँपालिकासँग यस अघि काठमाडौँमै सम्झौता गरिसकेको थियो ।
भूमिहीन,दलित,सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गरेकाहरूको पहिला तथ्याङ्क पठाएको आधारमा ती स्थानीय तहसँग सम्झौता गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । सम्झौता भएका स्थानीय पालिकामा चितवनको भरतपुर महानगरपालिका ,खैरहनी नगरपालिका ,कालिका नगरपालिका ,राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिका छन् ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका , मनहरी गाउँपालिका,बकैया गाउँपालिका र मकवानपुर गढी गाउँपालिका,सिन्धुलीको कमलामाई नगरपालिका ,दुधौली नगरपालिका ,घ्याङलेख गाउँपालिका,हरिहरपुरगढी गाउँपालिका,गोलन्जोर गाउँपालिका,ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकासंग आयोगले सम्झौता गरेको हो । यसैगरी रामेछापको खांडादेवी गाउँपालिका र सुनापाती गाउँपालिका ,धादिङको ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका,सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका,जुगल गाउँपालिका र मेलम्ची नगरपालिका , काभ्रेको रोशी गाउँपालिका,बेथान्चोक गाउँपालिका,तेमाल गाउँपालिका र नुवाकोटको तार्केश्वर गाउँपालिकासँग सम्झौता गरेको आयोग अध्यक्ष ज्ञवालीले बताउनुभयो  ।
सम्झौता पत्रमा आयोगका तर्फबाट आयोगका उपसचिव वसन्त प्रसाद पन्थी र सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा आयोग र स्थानीय तहले गर्ने कामहरू उल्लेख गरिएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहले सुकुम्वासी ,अव्यवस्थित ,दलित र भूमिहीनलाई लालपुर्जा दिलाउने कामलाई प्राथमिकता दिन आग्रह गरे । बाटोघाटो निरन्तर बन्ने प्रक्रिया हो मुख्यमन्त्री पौडेलले भने – जनताले अनुभूति हुने गरी काम गर्न लालपुर्जा वितरणको कामले प्राथमिकता पाउनु पर्छ ।
प्रदेशका भौतिक योजनामन्त्री रामेश्वर फुयाँलले वर्तमान दुई तिहाईको सरकारले लालपुर्जा वितरण नगरे कहिले समस्या समाधान नहुने तर्क गर्दै जसरी पनि यो सरकारले काम गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले गणतन्त्रको अनुभूति दिलाउन इमानदार भएर लालपुर्जा वितरणको प्रक्रिया सुरु गर्नु पर्ने बताउनुभयो  ।
आयोग अध्यक्ष देवीप्रसाद ज्ञवालीले पहिलो चरणमा १ सय ८६ वटा पालिकासँग सम्झौता हुने जानकारी दिँदै असार भित्र नतिजा आउने गरी काम गर्न स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button