तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ ।

क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट, एक एकदिवसीय, फस्ट क्लासका १ सय ८ म्याच खेलेका छन् ।

वाटमोरले श्रीलंका, पाकिस्तान जस्ता देशलाई प्रशिक्षकको रुपमा नेतृत्व गरिसकेका छन् ।

वाटमोरले सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका थिए । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल गत फेब्रुअरीबाट मुख्य प्रशिक्षक विहीन रहेको थियो । गत सेप्टेम्बरमा क्यानले मुख्य प्रशिक्षकको लागि पहिलो पटक दरखास्त आह्वान गरेको थियो ।

नेपालको मुख्य प्रशिक्षक बन्न ७२ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानले अन्तिम चरणमा अन्तवार्ताका लागि १५ जनालाई छनोट गरेको थियो । तर, अन्तवार्ताका लागि १२ जना मात्र उपस्थित भए । अन्तर्वार्तापछि क्यानले वाटमोर सहित ३ प्रशिक्षकको नाम आइसीसीमा पठाएको थियो । आइसीसीको सहमतीमा क्यानले वाटमोरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button