तपाईँ सुन्दै हुनुहुन्छः

 सडक विस्तारका नाउँमा पुरियो सिमसार क्षेत्र

पाल्पा । पाल्पाकै गौरवको रुपमा रहेको ऐतिहासिक प्रभास पोखरी पुरिने सम्भावना बढेको छ । स्थानीय सरकारकै लापरबाहीको कारण सिमसार क्षेत्र पुरिँदै गएको हो ।
नगर सरकारले सडक चौडा गर्ने क्रममा प्रभास बाँंसटारी खण्डमा निस्किएको सयौँ टिप्पर माटो पोखरीमा फाल्दा पोखरी पुरिँदै गएको हो ।
‘पोखरी पुर्ने नियतले नै पोखरीको किनारामा माटो फालिएको देखिन्छ ।’ स्थानीय बासिन्दा रुद्र बहादुर पाटाले बताउनुभयो ।
सयौँ टिप्पर माटो पोखरीको किनारामा जथाभाबी फ्याक्दासम्म जनप्रतिनिधि मौन हुनु अत्यन्त लज्जास्पद भएको उहाँले बताउनुभयो ।
‘भू–माफिया’ले सिमसार क्षेत्र मासेर आवासीय क्षेत्र बनाउने उद्देश्यले ठेकेदारले पोखरी पुर्ने गरी काम गरेको एक अर्का एक स्थानीयले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो ।
‘यस क्षेत्रकै पानीको मुख्य श्रोतको रुपमा रहेको सिमसार क्षेत्र पुरिर्दै छ, जनप्रतिनिधि सबै किन मौन छन् ?’ उहाँको प्रश्न छ ।
अतिक्रमणको चपेटामा परेर साघुरिदै गएको प्रभास तालको स्वामित्व स्थानीय सरकारमा रहेको छ । सिमसार क्षेत्रको रुपमा विकास गर्नुको सट्टा सरकारको स्वामित्वमा रहेको तालको स्थानीय सरकारले नै बेहाल बनाएको स्थानीय बासिन्दा दिपक सुवेदीको आरोप छ ।
तानसेन नगरले सडक चौडा गर्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिमार्फत काम गर्ने भनिए पनि जन प्रतिनिधि निकटका तानसेनका कृष्ण प्रसाद पाण्डेले बिना टेन्डर उपभोक्ता समितिको आवरणमा ९८ लाखमा ठेक्का लिएर सडक चौडा गरेका हुन् ।  उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर थापाले पोखरीको बेहाल भएको विषयमा अनविज्ञता प्रकट गर्नुभयो ।
‘अन्य क्षेत्रमा वातावरणीय सन्तुलन कायम गर्न , पानीको श्रोत बढाउन एवं पानीको रिचार्ज गर्न डाडाँ डाडाँमा पोखरीहरू निर्माण गरिएका छन् । तर यहाँ भने पोखरी एवं ताल ध्वस्त बनाउनु अत्यन्त लज्जास्पद भएको स्थानीय सुमन थापाले बताउनुभयो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले समेत यस विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिनुभयो । नगर प्रमुख अशोक कुमार शाहीले यस विषयमा आफूलाई जानकारी आउन साथ तत्काल काम रोकेको बताउनुभयो ।
यसैबीच, सडक चौडा गर्न उपभोक्ता समिति मार्फत जिम्मेवारी पाएको ठेकेदारले सडक चौडा गर्ने क्रममा ढालिएका सल्लाका रुखहरू समेत गैर कानुनी रुपमा बिक्री गरेको आरोप छ । ठेकेदारले ठेक्का लिएको रकम भन्दा बढिको ढुङ्गा माटो बिक्री गरी सकेको र जन प्रतिनिधिको आडमा ढुङ्गा माटोको दोहन भइरहेको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button