तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा शहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका कंचनपुरमा आज कञ्चनरुप शहरी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन भएको छ ।

नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना अन्तर्गत निर्माण हुने खानेपानीको कार्यालयको नगर प्रमुख बसन्त कुमार मिश्रले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले विश्व स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्ड बमोजिमको ल्याब टेस्ट भएको प्रशोधित स्वच्छ र शुद्ध खानेपानी उपभोक्तालाई वितरण गरिने बताउँनुभयो ।

नगर उपप्रमुख निरु पोखरेलले खानेपानीको हाहाकार भएको अवस्थामा नगरपालिकाले एसियाली विकास बैंकसँग सम्झौता गरेर खानेपानी निर्माणको आयोजना सुरु गर्न लागिएको कुराको जानकारी गराउँनु हुँदै आयोजनालाई सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताउँनु भयो ।

८५ करोडको लागतमा निर्माण हुने कञ्चनरुप सहरी खानेपानी तथा सरसफाइ आयोजना २ वर्ष भित्र सम्पन्न गरि सक्ने गरी एक महिना भित्र टेण्डर लाग्ने उपभोक्ता समितिका अध्यक्ष भुवन बहादुर केसीले जानकारी गराउँनुभयो ।

८५ करोडको कुल लागत मध्ये एसियाली विकास बैंकले नेपाल सरकारलाई ऋण सहयोग गरेर नेपाल सरकारको तर्फबाट ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग र उपभोक्ताको तर्फबाट ५ प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता भई आयोजनाको निर्माण कार्य सुरु हुन लागेको आयोजनाका इन्जिनियर करदेव यादवले बताउँनुभयो ।

यस खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि नगरको वडा नम्बर ४, ७, ८, ९, ११ र १२ का गरी ४ हजार ४ सय ६५ घरधुरीलाई शुद्ध खानेपानी वितरण गरिने उपभोक्ता समितिले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button