तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत

पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज ८ सय ४७ जना निको भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ३९ हजार ४ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तथ्याङ्क अनुसार हालसम्म संक्रमण मुक्त हुनेको दर ९५ दशमलव ४ प्रतिशत रहेको छ ।

यस्तै आज थप ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५ सय ५५ वटा पिसिआर परीक्षण गर्दा  ४ सय ४५ पुरुष २ सय ९१ महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।

देशभर रहेका ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित मध्ये ६ हजार ९४ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै गम्भीर लक्षण देखिएका २ सय ८९ जनाको आइ.सी.यु र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमणका कारण आज थप १३ जनाको मृत्यु भएसँगै हालसम्म संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय ४३ पुगेको छ ।

 

मोबाइल एप्समार्फत प्लाज्मा दान तथा अनुरोध गर्न मन्त्रालयको आग्रह 

कोरोना सङ्क्रमितका लागि मोबाइल एप्समार्फत प्लाज्मा दान तथा अनुरोध गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सक्रमितहरुको उपचारमा सहयोग पु¥याउने उद्देश्यले हाम्रो स्वास्थ्य एप्समा प्लाज्मा दान तथा अनुरोध गर्ने सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो ।

प्रा. डा गौतमले विभिन्न सामाजिक संञ्जालहरुमा प्लाज्मा दानका लागि अनुरोध भइरहेकाले संक्रमित भई पूर्ण निको भएकाहरूले प्लाज्मा दान गर्न सक्ने र सक्रिय सङ्क्रमितहरूले प्लाज्मा दान गर्न अनुरोधका लागि एप्सको सहयोग लिन सकिने बताउनुभयो ।

यस्तै संक्रमण देखा परेपछि १४ दिन सम्म आइसोलेसनमा बसेका व्यक्तिले लक्षण नदेखिएमा पुनः परीक्षण गर्न नपर्ने प्रा.डा गौतमले जानकारी दिनुभयो ।

सङ्क्रमणका लक्षण देखिए चिकित्सकको सल्लाह अनुसार उपचार सेवा लिई संक्रमण फैलनबाट रोक्न तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई संक्रमित हुनबाट बचाउन मन्त्रालयले अनुरोध गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button