२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकारकर्मी तथा सञ्चारकर्मीका बीचमा जनकपुरधाममा छलफल

अजय कुमार झा २०७७ पुष १ गते १७:१७

जनकपुरधाम । कोरोना महामारीको अवधिमा भएको मानव अधिकार उल्लंघन तथा सञ्चारजगतले भोग्नु परेको समस्याका बारेमा आज जनकपुरधाममा छलफल सम्पन्न भएको छ ।

इन्सेकको प्रदेश नंं २ को कार्यालयले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका पत्रकार तथा मानव अधिकारकर्मीहरुले कोरोना महामारीको अवधिमा कैयन गंभिर प्रकृतिका मानव अधिकार उल्लंघनको घटना भएको बताउदै त्यसको निष्पक्ष छानविन नभएको बताउनु भयो ।

सहभागिहरुले कोरोना महामारीका कारणले तीन महिनासम्म भएको लक डाउन र त्यस अवधिमा पीडित भएका व्यक्ति समक्ष मानव अधिकारकर्मी पुग्न नसकेपछि सञ्चारकर्मीहरुले घटनाको उजागर गर्नमा खेलेको भूमिका प्रशंसनीय भएको बताउनु भयो ।

मानव अधिकारकर्मी तथा सञ्चारकर्मीका बीचमा अन्योन्याश्रित सम्बन्ध भएको बताउदै कोरोनाका कारणले थुप्रै सञ्चारकर्मीहरु पेशावाट पलायन हुनु परेको धारणा पनि सहभागिहरुले राख्नु भएको थियो ।

कार्यक्रममा इन्सेकका प्रदेश नंं २ का प्रमुख राजु पासवानले कोरोना महामारीका समयमा प्रदेश नंं २ मा भएको मानव अधिकार उल्लंघनका घटनाहरुको बारेमा जानकारी दिदै यस अवधिमा महिला तथा वालिका बलत्कारको घटनामा बृद्धि भएको तथ्यांक पेश गर्नु भएको थियो ।

यस अवधिमा प्रदेश नंं २ को विभिन्न जिल्लामा १ सय ५० वटा वलात्कारको घटना भएको र त्यस मध्ये पनि १ सय १० वटा वालिका वलात्कारको घटना भएको महराले प्रतिवेदनमा उल्लेख गर्नु भयो । साथै १४ जना पत्रकारहरु विभिन्न पक्षहरुद्वारा पीडित भएको जानकारी प्रतिवेदनमा इन्सेकले उल्लेख गरेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नंं २ का कार्यालयका अनुसन्धान अधिकृत मनमाया राना मगरले मानव अधिकारको उल्लंघनको घटना हुदा उजुरी नपरेपनि आयोगले आफै टिप्पणी उठाएर अनुसन्धान गर्ने गरेको बताउदै कोरोना संक्रमणको अवधिमा पनि आयोगले कैयन अनुसन्धानको कामकाज गरेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले पत्रकारिता क्षेत्र जहिले पनि मानव अधिकारको रक्षाका लागि अग्रसर भएर कामकाज गर्ने गरेको बताउदै मानव अधिकार कर्मीको आँखा नपुगेको ठाउँमा पत्रकार पुगेर घटनाको उजागर गर्ने गरेको बताउनु भयो । कार्यक्रममा सहभागि भएका पत्रकारहरुले आफैले भोग्नु परेको समस्या तथा मानव अधिकार उल्लंघनको विषयमा बोल्नु भएको थियो ।

सम्बन्धित