२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा सुन्तला उत्पादन घट्यो, कृषक मर्कामा

बद्री पन्त २०७७ पुष १ गते १६:५४

जाजरकोट । जाजरकोट जिल्लामा यस वर्ष सुन्तला उत्पादन घटेको छ । सुन्तला उन्पादन घटेपछि सुन्तला खेती गरेका कृषक मर्कामा परेका छन् । सुन्तला खेतीलाई मुख्य पेशा बनाएका सुन्तला कृषक उन्पादन घटेपछि यतिबेला निराश बनेका छन् ।

गत वर्ष सुन्तला बेचेर ८ लाख आम्दानी गरेका कुशे गाउँपालिका ५, दम्दालाका शक्तिबहादुर वलींले यो वर्ष १ लाख पनि हात पार्न मुस्किल भएको बताउनु भएको छ । ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका वलीले गत वर्षको तुलनामा यस वर्ष चार गुनाले सुन्तला उत्पादन घटेको बताउनु भयो ।

सुन्तलाका बोट सुक्ने, पात झर्ने र दाना कालो भएर कुहिने समस्याका कारण यो वर्ष वोटमा सुन्तला निकै कम फलेको वलीको भनाइ छ । वलीको बारीमा २ हजार बोट छन् । कुशे ५ दम्दालाकी पार्वती थापा पनि सुन्तला उत्पादन घटेपछि निराश हुनुभएको छ ।

फूल खेल्ने सिजनमा असिना पानी र पाक्ने सिजनमा एकाएक झर्ने समस्याले यस पटक उत्पादन हुन नसकेको बताउनु भयो । दाना कालो हुने, बोट सुकेर जाने, दानाभित्र किरा र ढुँसी रोग देखिएको कारण उत्पादन घटेको थापाको भनाइ छ ।

जिल्ला भर सुन्तला खेती गरेका ५ सय कृषक उत्पादन घटेपछि निकै चिन्ता परेका छन् । मकै, गँहु तथा धान लगाउने खेतबारीमा सुन्तला खेती गरेका कृषक यस वर्ष उत्पादन घटेपछि वर्षभरीको गुजारा कसरी गर्ने भन्ने चिन्तामा छन् ।

जिल्लाको सबै क्षेत्रमा सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताउनुभयो ।

सरकारले सुन्तलाको लागि राम्रो सम्भावना भएको जाजरकोटको कुशे गाउँपालिका, भेरी नगरपालिका र नलगाड नगरपालिका क्षेत्रलाइ जोडेर २ वर्षको अघि जाजरकोटलाई सुन्तला जोन घोषणा गरेको थियो ।

सम्बन्धित