तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुखद्वारा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले आफ्नो सेवासुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।

नगर प्रमुख घिमिरेले यसअघि नै घोषणा गर्नुभए अनुसार चालु शैक्षिक सत्रको लागि ४३ सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरिएको हो ।

नगर प्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरेसँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक–एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइएको छ ।

सोही अनुसार मंगलबार कक्षा १ देखि ८ सम्म छात्रवृत्तिको लागि छनौट विद्यार्थीलाई जनही ५ हजार र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई जनही ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधिअनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा अधिकृत शारदा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष छात्रवृत्तिमा २ लाख ४३ हजार खर्च भएको छ भने १ लाख ७१ हजार कोषमा जम्मा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button