तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १४ धाप्लाङ्गस्थित एक क्रसर उद्योगमा सोमबार राती अज्ञात समूहले दुई वटा बम विस्फोटन गराएको छ ।

६ जनाको सङ्ख्यामा राती १०ः१५ बजे आएको उक्त समूहले द कञ्चनजङ्घा गोल्डेन गुड जेबीको क्रसर उद्योगमा बम विस्फोट गराएको हो । विस्फोटनबाट उद्योगको मेनकन्वीयर बेल्ट, मोटर, जेसीवी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

मुकुन्डो लगाएर उद्योग भित्र प्रवेश गरेको उक्त समूहले विस्फोटन गर्नुपुर्व सुरक्षा गार्ड स्थानीय ६० वर्षीय कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको उहाँले बताउनु भयो । प्रतिकार गर्न खोज्दा तामाङमाथि कुटपिट भएको उद्योगका प्रतिनिधि सुमन्त कोइरालाले बताए । विस्फोटनबाट उद्योगको करिव १० लाख बराबरको धनमालमा क्षति पुगेको उहाँले बताउनु भयो ।

घटना लगत्तै एसपी भिमबहादुर दाहालको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । विस्फोटन भएको बम सुतली र सकेट हुन सक्ने प्रहरीको अनुमान छ । विस्फोटको कसैले जिम्मा लिएको छैन । सगरमाथा लोकमार्ग अन्तर्गतको दियाले–अँधेरी–फोक्सीन्टार सडक खण्डलाई लक्षित गरी उक्त अस्थायी क्रसर उद्योग स्थापना गरिएको हो ।

यसअघि एक महिनाको समयमा सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्र र ताप्लि गाउँपालिकालाई लक्षित गरी अज्ञात समूहले बम विस्फोटन गराएको थियो । उक्त बमसमेत हालसम्म कसैले जिम्मा लिएको छैन ।

उदयपुरको दुर्गम क्षेत्रमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको सक्रियता रहेको छ । बम विस्फोटन कसले गर्‍यो भन्ने यकिन नभए पनि विप्लव समूहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button