तपाईँ सुन्दै हुनुहुन्छः

काँगेलडाँडा विमानस्थलमा ६ वर्षपछि परीक्षण उडान

काँगेलमा परीक्षण उडान गर्दै नेपाल वायु सेवा निगमको जहाज

सोलुखुम्बु । मुलुककै सबैभन्दा बढी विमानस्थल भएको सोलुखुम्बुमा करिब ६ वर्षदेखि बन्द रहेको काँगेलडाँडा विमानस्थलमा परीक्षण उडान गरिएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलमा निर्मित उक्त विमानस्थलमा मङ्गलबार परीक्षण उडान सफल भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरूको लगातारको प्रयासबाट विमानस्थलमा नेपाल एयरलाइन्सको नाइन एन–एबियु कल साईन भएको जहाजले विहान नौ बजेर चार मिनेटमा उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय काँगेलडाँडाले जनाएको छ ।

काठमाडौँबाट चालक दलका तीन जना सहित ११ जना यात्रु लिएर परीक्षण उडानमा आएको जहाजले ११ जना नै यात्रु लिएर काठमाडौँ फर्किएको बताइएको छ । यस अघि मङ्िसर २५ गते उडान नै हुने गरी थुलुुङ दूधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगमबिच सम्झौता भएतापनि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक तयारी नपुगेका कारण उडान हुन नसकेको अध्यक्ष राईले बताउनुभयो ।

अध्यक्ष असिम राई र निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहालबिच भएको सम्झौताअनुसार अबदेखि हरेक मङ्गलबार सातामा एक पटक काठमाडौँ–काँगेल–काठमाडौँँको नियमित उडान हुने छ । उडानका लागि १६ सिटमा यात्रुको सुनिश्चितता गाउँपालिकाले गरेपछि नेपाल वायु सेवा निगम उडान भर्न तयार भएको हो ।

विमानस्थलमा उडान हुन थालेपछि स्थानीय हर्षित भएका छन् । विमानस्थल नजिकैका स्थानीय शिव कार्कीले खुशी हुँदै भन्नुभयो, घरमाथि एयरपोर्ट हुँदा पनि आपत परेको बेला जीपको घण्टौँ लामो यात्रा गरिरहेका थियौं, अब भने केही सहज होला ।

विमानस्थल सञ्चालनमा आएसँगै सोलुखुम्बुको तल्लो क्षेत्र तथा खोटाङको केही गाउँपालिकाका जनताले लाभ लिन सक्ने छन् । २०५२ सालमा निर्माण सुरु भएको विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button