२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको गुर्भाकोटमा सशस्त्रको शिक्षालय निर्माण हुँदै

आकाश तारा बयक २०७७ मंसिर ३० गते १४:४४

 सुर्खेत । सुर्खेतको गुर्भाकोटमा सशस्त्र प्रहरीको शिक्षालय निर्माण हुने भएको छ । शिक्षालय निर्माणका लागि अहिले प्रारम्भिक पूर्वाधार निर्माणका कार्यहरु तीव्र पारिएका छन् ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१०, लौरेदमारमा त्यहाँको स्थानीय सरकारले शिक्षालय खोल्नका लागि २४ विघा सामुदायिक वनको जग्गा उपलब्ध गराएको छ । देश संघीय संरचनामा गएसँगै सशस्त्र प्रहरीले आफ्नो संगठनलाई त्यहीं अनुरुप कर्णाली प्रदेशमा विस्तार गर्न लागेको हो ।

देशका अन्य प्रदेशमा सशस्त्र प्रहरीको शिक्षालय रहेपनि कर्णाली प्रदेशमा हालसम्म बन्न सकेको छैन् । सशस्त्रले नागरिकको त्यहीं अनुरुपको आवश्यकतालाई परिपूर्ति गर्न शिक्षालय निर्माणका लागि गुभाकोट नगरपालिका रोजेको हो ।

गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले सशस्त्र प्रहरीको शिक्षालय निर्माणका लागि निशुल्क २४ विघा जग्गासँगै साढे १८ लाख रुपैयाँको व्यारेक भवन निर्माण कार्य शुरु भएको बताउनु भयो । उहाँले गुर्भाकोट जस्तो पिछडिएको क्षेत्रमा सशस्त्र प्रहरीको शिक्षालय निर्माणबाट यहाँको आर्थिक तथा सामाजिक स्तरबृद्धि हुनुका साथै प्रदेशकै गौरव बढ्ने जनाउनु भयो ।

‘देशका अन्य प्रदेशमा सशस्त्र प्रहरीको शिक्षालय स्थापना भएपनि कर्णाली प्रदेशमा हालसम्म बन्न सकेको छैन्,’ उहाँले भन्नु भयो, ‘सशस्त्रले गुर्भाकोटमा शिक्षालय निर्माण गरेपछि यहाँबाट उत्पादित सुरक्षाका दक्ष जनशक्ति देशैभरी पुग्ने हुँदा हाम्रा लागि त्यो गौरवको कुरा हुनेछ ।’ उहाँले सशस्त्रको शिक्षालय निर्माणका लागि हाल प्रारम्भिक पूर्वाधार कार्य शुरु भएपनि आधिकारिकता संघीय सरकारको क्याविनेटले तय गर्ने बताउनु भयो ।

हाल लौरेदमारमा गत असोज २५ गतेदेखि सशस्त्र प्रहरी निरीक्षक कमल थानीको नेतृत्वमा २५ सदस्यीय अस्थायी बेश क्याम्प निर्माण गरिएको छ । सशस्त्रको शिक्षालय निर्माणका लागि गुर्भाकोटको भेरी सामुदायिक वन उपभोक्ता समितिले जग्गा उपलब्ध गराएको हो ।

सम्बन्धित