तपाईँ सुन्दै हुनुहुन्छः

आमाको पोषण सुधारमा स्थानीय प्रयास

टीकापुर- जानकी गाउँपालिका–४ की सरस्वती शर्माको पेटमा बच्चा हुर्किरहेको छ । पहिलो सन्तानको सरस्वतीले खासै स्याहार गर्नुभएन । “आठ महिना चल्दैछ, पहिलो बच्चा पाउँदाको स्याहार र अहिलेमा धेरै फरक छ । सासूआमा र श्रीमान्ले मेरो खानपानमा निकै ध्यान दिनुहुन्छ”, सरस्वतीले भन्नुभयो, “गाउँपालिकाले आयोजना गरेको पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा श्रीमान् सहभागी भएर फर्केपछि घरमा मेरा लागि वातावरण परिवर्तन भयो । हाल मलाई खान मन लागेको सबै कुरा समयमै पुग्छ ।”

टीकापुर–७ की सन्देशी चौधरीको पनि गर्भावस्थामा विशेष स्याहारसुसार भइरहेको छ । नगरपालिकाले उहाँकै वडामा गएर सासू–बुहारी कार्यक्रम गरेपछि सन्देशीको घरको माहोल बदलिएको छ । “पहिले घरका सबैले खाएपछि म खाना खान्थेँ, त्यो कार्यक्रममा गएपछि सासूआमाले मलाई पहिला खुवाउनुहुन्छ । मीठो खानेकुरा अलि बढी दिइन्छ”, सन्देशीले भन्नुभयो, “म त दङ्ग छु । यस्तो माया पाएर बच्चा हुर्काउन पाएर म अचेल मोटाएकी छु ।”

कैलालीका स्थानीय तह आमा र बच्चाको पोषण सुधारका लागि नीतिगतरूपमै अगाडि बढेका छन् । कैलालीका स्थानीय तहले हजार दिनका आमा र बच्चाको पोषण सुधारलाई प्राथमिकता दिएर काम गर्न थालेका छन् । स्थानीय तहले नीति तथा कार्यक्रममै आमा र बच्चाको स्वास्थ्यलाई प्राथकितामा राखेका छन् । त्यसका साथै बजेट विनियोजनमा समेत प्राथमिकता दिएको टीकापुर नगरपालिकाका उपप्रमुख केशरी रावल विष्टले बताउनुभयो । “बच्चा स्वस्थ भए समाज स्वस्थ हुन्छ भनी आमा र बच्चाको पोषणका क्षेत्रमा थुप्रै काम थालेका छौँ”, उपप्रमुख विष्टले भन्नुभयो, “सुत्केरीलाई कोसेली कार्यक्रम गत वर्षबाट निरन्तर छ । कोसेलीमा घ्यू, गेडागुडी, कुखुराको अण्डा, फलफूल दिने गरेका छौँ । उनीहरुलाई कोसेलीसँगै खानपानबारे प्रशिक्षणसमेत दिन्छौँ ।”

टीकापुर नगरपालिकाले यसका साथै गर्भवतीका लागि ‘जिरो होम डेलिभरी अर्थात् अस्पतालमै सुत्केरी हुनका लागि घरबाट अस्पतालसम्म’ कार्यक्रम शुरु गरेको छ । यसमा नगरपालिकाले किनिदिएको नेपाल रेडक्रस सोसाइटी टीकापुरको एम्बुलेन्सले नगरभित्रका सुत्केरीलाई निःशुल्क अस्पतालसम्म ल्याउने काम गर्छ । नगरपालिकाले सुत्केरीलाई निःशुल्क रगतको व्यवस्थासमेत गरेको छ ।

“सुत्केरीलाई चाहिने आवश्यक रगत निःशुल्क पाइन्छ, रगत आपूर्तिका लागि लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने गरेको छ”, उपप्रमुख विष्ट भन्नुहुन्छ, “यसअघि सुत्केरी व्यथा लागेका जटिल शल्यक्रिया गर्नुपर्ने महिलालाई नेपालगञ्ज, धनगढी लैजानुपर्ने समस्या थियो । हामीले टीकापुर अस्पतालमा स्त्रीरोग विशेषज्ञको व्यवस्था गरेका छौँ । अहिले महिलाले सबैखाले सेवा यहीँ पाएका छन् ।”

नगरपालिकाले बच्चाको स्वास्थ्य उपचारमा सहज होस् भनी बालरोग विशेषज्ञको सेवाको व्यवस्था पनि अस्पतालमा मिलाएको छ । “अस्पतालमा दैनिक ६० देखि ८० बालबालिकाले उपचार सेवा लिएका छन्”, विष्टले भन्नुभयो, “बालबालिका बिरामी हुँदा नेपालगञ्ज दौडनुपर्ने समस्यासमेत समाधान भएको छ ।”

कैलालीको जोशीपुर गाउँपालिकाले समेत आमा र बच्चाको पोषण सुधारका लागि थुप्रै प्रयास थालेको छ । “हामीले बच्चाका आमालाई लिटो बनाउन, खुवाउन तालिम दिएका छौँ, यस वर्षदेखि आमासँग उपाध्यक्ष कार्यक्रमका लागि बजेट विनियोजन भएको छ”, उपाध्यक्ष गीता कठरियाले भन्नुभयो, “अन्य आमा र बच्चाको पोषणबारे सचेत गराउन सासू–बुहारी, गर्भवतीसँग छलफलजस्ता विविध कार्यक्रम गरिरहेका छौँ ।”

कैलालीको जानकी गाउँपालिकाले पनि आमा र बच्चाको पोषण सुधारलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले गर्भवतीलाई पोषण वितरण गर्ने गरेको छ । “पालिकाले पोषण वितरण गर्दा घरका अभिभावक वा श्रीमान्लाई अनिवार्य बोलाएर गर्भावस्था तथा सुत्केरी अवस्थामा खानपानमा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिने गरेको छ”, उपाध्यक्ष उमा महतोले भन्नुभयो, “श्रीमान् तथा घरका सदस्य सचेत भए गर्भवती तथा सुत्केरीको स्याहार हुन्छ ।”

जानकीले ‘मेरो बाबालाई चिठ्ठी’ कार्यक्रमसमेत गरेको छ । क्यालेण्डरसहितको बाबालाई गर्भमा रहेको बच्चाले के चाहन्छ भन्ने खालको चिठ्ठी गर्भवतीको घरघरमा दिएको छ । यसबाट गर्भवतीका श्रीमान्लाई जिम्मेवार बनाउन सहयोग पुगेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button