तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपहाडी लोकमार्ग : जाजरकोट खण्डमा कालोपत्रे भएन

जाजरकोट- सम्झौता मिति सकिन तीन महिना बाँकी रहँदासम्म मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डभित्र कालोपत्रको काम शुरु हुनसकेको छैन । कच्ची कटानको काम निरन्तर चलिरहेको भए पनि कालोपत्रको काम भने अहिलेसम्म शुरु हुनसकेको छैन ।

तीस महिनाभित्र ३५ किलोमिटर सडकमा कालेपत्र सक्ने गरी शर्मा, सिंह एण्ड ब्रदर्स जेभी काठमाडौँले कामको जिम्मा लिएको थियो । कालोपत्रको काम नहुँदा धुलाम्मे भएर दैनिक यातायातका साधन मुस्किलका साथ सञ्चालन भइरहेका छन् ।

सडकको सात मिटर चौडाइ बनाएर कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । जेभीका प्रतिनिधि विश्वास उप्रेतीका अनुसार १७ किलोमिटरको दूरीमा रहेको कुदु–गिमासम्म एक भाग र गीमादेखि छेडागाड नगरपालिकाको कार्की गाउँसम्म १८.५ किलोमिटरको अर्को भाग बनाई एकैपटक काम शुरु गरिएको भए पनि अहिलेसम्म कालोपत्र गर्न नसकिएको हो । पहिलो चरणमा रु ४९ करोड २६ लाखमा काम हुनेछ भने अर्को भागमा रु ५० करोड ४७ लाखको काम भइरहेको छ । त्यस्तै कुदुबाट थलहसम्म एकै जेभीले ठेक्का पाएको छ । अहिले मन्ताभिरमा कडा चट्टान काट्ने काम भइहेको उप्रेतीको भनाइ छ ।

सोभन्दा अगाडि दैलेखको सिमानासम्म ठेक्काको कच्ची काम भइरहेको छ । पचपन्न किलोमिटरभित्र चिसो कम हुनबित्तिकै कालोपत्रको काम शुरु हुने बताइएको छ । पैँतीस किलोमिटर सडकको ठेक्का लिएको मिति सकिन तीन महिना बाँकी छ भने अर्को खण्डको २४ महिना बाँकी छ । पाँचथरको चियाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्म एक हजार ७७६ किलोमिटर लम्बाइ रहेको मध्यपहाडी लोकमार्ग जाजरकोटमा ८२ किलोमिटर रहेको छ ।

मापदण्डविपरीत सिमेन्ट र बालुवा प्रयोग

मापदण्डभित्र रही सिमेन्ट बालुवा प्रयोग नगर्दा जाजरकोट खण्डमा निर्माण भएको नाली, छेउका पर्खाल भत्किएका छन् । प्राविधिक गएर दुईपटकसम्म पर्खाल भत्काएको बताएका छन् । निर्माण कम्पनीले भने स्थानीयवासीलाई निर्माणको जिम्मा दिँदा बिगारेको आरोप लगाएको छ । अहिले पूरै सडक कच्ची कटान गरी फराकिलो बनाउने काम भएकाले त्यसमा गुणस्तर कम भएको प्राविधिकले बताएका छन् ।

आठ वर्षदेखि पुल अलपत्र

मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र पर्दा यातायात सञ्चालनमा समस्या भएको छ । ठेकेदारको लापरवाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा नभएको हो । पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्डसमेत अपूरो बनेको छ । तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग विसं २०६९ मा सम्झौता गरेको थियो । रु १३ करोड ४७ लाख लागतमा निर्माणाधीन पुलको अहिलेसम्म सबस्ट्रक्चर (टावर जग) समेत पूरा भएको छैन । पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीयवासी झोलुङ्गे पुलबाट आवतजावत गर्न बाध्य छन् ।

पुल निर्माणका लागि ल्याइएका एक्साभेटर, टिपर, मिक्सचरलगायत मेसिन निर्माणस्थल वरिपरि अलपत्र अवस्थामा छन् । गत आवमा ठेकेदार निर्माणस्थलमै नआएको भेरी नगरपालिका–१३ का वडाध्यक्ष गोपाल बटालाले बताउनुभयो । सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि रिडिजाइन गर्दा निर्माणमा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनले जानकारी दिएको छ ।

म्याद पटकपटक थप्दा पुल निर्माणमा समस्या भएको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनीयर लक्ष्मणबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार चौरजहारी साइटमा पिलर तथा फाउन्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुनसकेको छैन । लोकमार्गअन्र्तगतकै कुदुबाट दैलेखको सुयाँडा, जाजरकोट खण्डको छेडागाड थलहलगायत खोलामा पुल निर्माण अलपत्र परेको आयोजनाले जनाएको छ । त्यस्तै छेडागाड नगरपालिकाको थलहमा समेत पुल निर्माण नहुँदा अलपत्र परेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button