तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रकृति र संस्कृतिको संरक्षणका लागि पोखरीको सौन्दर्यीकरण महत्वपूर्ण’

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रकृति तथा संस्कृतिको धरोहरको रुपमा रहेको पोखरीहरुको सौन्दर्यीकरण गर्ने प्रदेश सरकारको अभियान स्वागतयोग्य भएको बताउनु भएको छ ।

जसपाका अध्यक्ष ठाकुरले प्रदेश नंं २ सरकारको मुख्यमन्त्री स्वच्छा अभियान अन्तर्गत महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकाको वडा नंं १० मा रहेको मधवा पोखरीको सौन्दर्यीकरण कार्यक्रमको आज शिलान्यास गर्दै पोखरीको संरक्षण तथा सौन्दर्यीकरणले पर्यटन, कृषि, माछापालन तथा पशु चौपायालाई स्वच्छ पानी आपूर्तीमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

जसपाका अध्यक्ष ठाकुरले शिक्षा, स्वास्थ्य विकासको प्रमुख आधार भएको बताउदै यी दुवै क्षेत्रको विकासमा प्रदेश नंं २ का सरकारले गरेको कामकाजको प्रशंसा गर्दै जनताको पक्षमा अझ बढी सजगतासहित कामकाज गर्नका लागि सुझाव दिनु भयो ।

उहाँले कोरोनाका कारणले लामो समयसम्म नेपाल भारतको सीमानाका बन्द भएको कारणले आर्थिक अपराधिकरणमा वृद्धि भएकाले सीमा खोलेर वैध आर्थिक गतिविधिलाई तीब्रता दिन नेपाल सरकारलाई सुझाव दिनु भयो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत प्रदेश भरि नै ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वको पोखरी, मठमन्दिरहरुको संरक्षण तथा सौन्दर्यीकरणको कामकाज भईरहेको बताउनुभयो ।

उहाँले महिलाको अर्थपूर्ण सहभागिताका लागि नै अहिले छात्राहरुलाई केन्द्रीत गरेर साईकल वितरण, शौचालय तथा छोरी विमा कार्यक्रम प्रदेशभरि लागु गरेको बताउदै छोरी विमाको ३ लाखमा ३ लाख स्थानीय तहले थप गरेर ६ लाख पुर्याउनका लागि पालिकाहरुसंग आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button