तपाईँ सुन्दै हुनुहुन्छः

कृषि सहकारी संस्थाहरूले  किसानसँग न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने

बारा । बारा जिल्लाको पाँच वटा कृषि सहकारी संस्थाहरूले  किसानसँग न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बाराले साना किसान कृषि सहकारी संस्था लिई. डुमरबाना, साना किसान कृषि सहकारी संस्था इनवासिरा, साना किसान कृषि सहकारी संस्था लि. तेतरिया, साना किसान कृषि सहकारी संस्था मनहर्वा लि. र कटेङगनमाई कृषि सहकारी संस्था लि. फेटाले  किसानको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने जनाएको छ ।

पाँच वटा कृषि सहकारी संस्थाहरूसँग किसानको धान न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने परियोजनासँग सम्झौता भएकाले आफुलाई पायक पर्ने ठाउँमा धान बिक्री गर्न परियोजना कार्यान्वयन इकाई बाराका प्रमुख डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

सहकारीहरूले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धान प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँमा खरिद गर्ने परियोजना कार्यान्वयन इकाई बाराले जनाएको छ ।

१८ प्रतिशत सम्मको चिस्यान भएको धान तोकिएको मूल्यमा खरिद गरी १५ दिन भित्र बैङ्क मार्फत भुक्तानी गर्नुपर्ने प्रावधान छ । धान बिक्री गर्ने किसानको विवरण सहित निर्धारित स्थानबाट मात्रै धान खरिद गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार किसानको धान खरिद गरे बापत सहकारीलाई प्रति क्विन्टल ११२ रुपैैंयाका दरले सरकारले अनुदान दिने यादवले बताउनु भयो ।

जिल्लामा करिब ७ सयको सङ्ख्यामा कृषि सहकारी रहेका छन् । तर ५ वटा सहकारीले मात्रै धान खरिद गर्ने प्रक्रियामा भाग लिएका हुन् । सरकारले तोकेको समर्थन मूल्य र बजार भाउमा प्रति क्विन्टल ५ सय रुपैंया सम्म फरक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button