तपाईँ सुन्दै हुनुहुन्छः

पिसिआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्कियो

सल्यान । स्वास्थ्य कार्यालय सल्यानमा आर्थिक अभाव हुँदा पिसिआर परीक्षणका लागि सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ ।

सङ्कलन गरिएको स्वाब सुर्खेतसम्म पुर्‍याउन आर्थिक अभाव हुँदा सङ्कलन गरिएको स्वाब अस्पतालमै थन्किएको हो ।

कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म सङ्कलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनु पर्ने आर्थिक अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो ।

स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुई पटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘एउटा गाडीले सुर्खेतसम्म पुगेको सात हजार पाँच सय रुपैयाँ लिन्छन् तर संस्थाले सात हजार मात्र पठाउने गर्दछ ।’

आर्थिक अभाव हुँदा सङ्कलन गरिएको स्वाब धेरै दिनसम्म अस्पतालमै राख्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘अस्पतालमा स्वाब सङ्कलन भएकै दिन सुर्खेत पठाउनु पर्ने हो तर आर्थिक अभाव हुँदा धेरै दिनदेखि यही थन्किएको छ ।’

स्वाब दिन आएका बिरामीहरूसँग पैसा माग्न नि नमिल्ने उता कार्यालयमा बजेट नहुँदा निकै समस्या भोग्नु परेको पुनको भनाई छ ।

अस्पतालको निकै पुरानो गाडी हुँदा समस्या भएको उहाँले बताउनुभयो । कतिपय अवस्थामा स्थानीय पालिकाहरूसँग समन्वय गरेर स्वाब पठाउने गरेको भए पनि सरकारले नै कोरोनाको लक्षण देखिएमा स्वाब सङ्कलन गर्नु भनेपछि स्थानीय पालिकाहरूले पनि नियमित स्वाब सङ्कलन नगर्ने गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button