तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले अहिले दुवै पदबाट राजीनामा दिने कुरा सम्भव छैन :पूर्व मन्त्री बाँस्कोटा 

विराटनगर । पुर्व मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिने कुरा सम्भव नभएको  बताउनु भएको छ ।

विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री पदबाट उहाँलाई  हटाउन चुनावसम्म पर्खनुपर्ने बताउनुभयो । विधि र प्रक्रियाबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई जर्बजस्ती राजीनामा गर भन्नु जनमतको उल्लङ्घन गर्नु हो भन्नुभयो ।

नेता बाँस्कोटाले चुनावको बेला आगामी प्रधानमन्त्री केपी शर्मा ओली हो भनेर भोट मागेकै कारण जनताले नेकपालाई दुई तिहाइ  मत दिएको बताउनुभयो । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चुनाव तथा  पार्टी अध्यक्ष पदबाट  हटाउन महाधिवेशन कुर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले लोकतान्त्रिक संविधान निमार्ण तथा सङ्घीयताको सफल कार्यान्वयन र नाकाबन्दीको सामना गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने   काम  प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेको बताउनुभयो ।

एक प्रश्नमा उहाँले गणतन्त्रको विकल्प छैन भन्नुहुँदै दलहरूप्रति जनतामा केही असन्तुष्टि होलान् तर त्यो सानो असन्तुष्टिका कारण व्यवस्था नै परिवर्तन हुने कुरा असम्भव छ भन्नुभयो  ।

उहाँले लोकतान्त्रिक पार्टी भनेको नेकपा र नेपाली कांग्रेस पार्टी हो भन्नुहुँदै यो दुई पार्टी बाहेक मुलुकमा राजा आउने तथा राजसंस्था पनि  फर्कने कुरा सपना मात्र हो  भन्नुभयो ।  मान्छे मारेर कुनै पनि उद्देश्य पुरा नुहुने  भन्दै हत्या हिंसाको राजनीति त्याग्न विप्लव समूहलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले प्रजातन्त्र भनेको चाँदीको थाल हो, यस्को विकल्प छैन भन्नुहँुुदै प्रजातन्त्रमा छलफल र सहमति कायम गरेर सबै समस्याको समाधान गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button