तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनको असर न्यून गर्न नेपाल सधैँ प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तनको असर न्यून गर्दै त्यसका उपाय पालना गर्न सदैव प्रतिबद्ध रहेको बताउनु भएको छ ।
जलवायु सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हरित बृद्घि र हरित पुनरुत्थान प्रवद्र्घन गर्न नेपालले सफा तथा नवीकरणीय ऊर्जा उत्पादनलाई प्राथमिकता दिएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी तापक्रम बृद्घि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय सन्तुलन कायम राख्न हिमालको महिमा बोध गर्न पनि आग्रह गर्नुभएको छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन:
महामहिमज्यूहरु,
विशिष्ट महानुभावहरु,
यस सम्मेलनकाे आयोजना गर्नुभएकोमा म चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दछु ।
कोभिड–१९ ले हामीलाई कोप–२६ स्थगन गर्न बाध्य तुल्यायो । तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्।
नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ ।हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन-शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं ।
हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या-पर्यटनको प्रर्बद्धन गरेका छौं ।
हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएका छौं ।
विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु ।
नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्य:प्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ ।
हामी सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मागचित्र निर्माण गर्दैछौं ।सन् २०३० सम्ममा हामी सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्नेछौं ।
यी महत्वाकांक्षाहरु लागू गर्नका लागि हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ ।हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं ।
धन्यवाद ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button